स्थानीयलाई खुकुरी देखाएर आतंकित बनाउने वडाध्यक्षलाई उन्मुक्ति

स्थानीयलाई खुकुरी देखाएर आतंक सिर्जना गर्ने पोखरा महानगरपालिका– ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई प्रहरीले उन्मुक्ति दिएको छ । गत शुक्रबार पोखरा– ३३ स्थित झाँक्री खोलामा ल्यान्डफिल साइट निर्माणका विषयमा भएको विवादमा वडाध्यक्ष अधिकारीले खुकुरी देखाएका थिए । प्रहरीले तत्कालै घटनास्थलबाट खुकुरीसहित उनलाई रंगेहात पक्राउ गरेको थियो । प्रहरीले कसैको उजुरी नआएको भन्दै वडाध्यक्षलाई त्यसै छाडेको हो ।
ल्यान्डफिल साइट निर्माणको विपक्षमा रहेका स्थानीयले शुक्रबार नाराबाजीसँगै वडा कार्यालयको मूलगेट र वडाध्यक्षको कार्यकक्षमा ताला लगाएका थिए । स्थानीयले तालाबन्दी गरेपछि गाडीमा आएका वडाध्यक्ष अधिकारी र स्थानीयबिच विवाद भएको थियो । विवादकै बिचमा वडाध्यक्षले आफूले लगाएको ज्याकेटको चेन खोली खुकुरी निकालेका थिए । ‘बिहान कुरा गरेर गएको होइन, अनि किन तालाबन्दी र नाराबाजी गरेको, को हो यहाँ ताला लगाउने, नराबाजी गर्ने देखाइदिउँ’ भन्दै खुकुरी निकालेर स्थानीयलाई प्रहार गर्न लाग्दा सँगै रहेको प्रहरीले तत्कालै समातेका कारण कुनै अप्रिय घटना भएन । वडाध्यक्षले खुकुरी प्रदर्शन गरेपछि आफूहरूको सुरक्षा हुनुपर्ने भन्दै स्थानीय शुक्रबार नै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

‘हामीले वडाध्यक्षलाई खुकुरीसहित घटनास्थलबाट रंगेहात नियन्त्रणमा लिएका हौँ । नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षणलगायत भयो । २४ घण्टा नियन्त्रणमा राख्यौँ । नियन्त्रणमा लिएको २४ घण्टाभन्दा बढी समय राख्ने अधिकार छैन, कसैबाट जाहेरी नआएपछि आफन्तको जिम्मा लगाएर छाडेको हो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले भने ।
खुकुरी प्रदर्शन गर्ने वडाध्यक्षलाई प्रहरीले त्यसै छाडेपछि स्थानीय झन् त्रसित बनेका छन् । ल्यान्डफिल साइट निर्माणसँगै जग्गा खरिद बिक्रीमा बिचौलिया प्रवेश गरेकाले समस्या आएको हो । यसअघि पोखरा– १४, बाच्छे बुडुवामा ल्यान्डफिल साइट रहेकोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बन्द भएको थियो । सञ्चालनमा रहेको ल्यान्डफिल साइट बन्द भएपछि पोखराको फोहोर अस्थाही रूपमा ६ महिनाको समय तोकेर पोखरा–३२ स्थित लामेआहालमा लगेर फाल्न सुरु गरिएको थियो । ६ महिनाका लागि भनिएकोमा करिब साढे तीन वर्ष हुन लाग्दासमेत स्थायी साइट तयार हुन सकेको छैन । फोहोरसमेत लामेआहालमा फाल्ने गरिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
