सन्त निरंकारी मण्डल नेपालले चैत्र १३ गते महिला समागम गर्ने

सडकपुर बौनियाँ, ७ चैत्र । सन्त निरंकारी मण्डल नेपालले चैत्र १३ गते महिला समागम गर्ने भएको छ ।
सडकपुर बौनियाँको बजार क्षेत्रमा हुने समागम स्थलमै आयोजित पत्रकार सम्मेलनमा मण्डलका अध्यक्ष नर बहादुर रावलले सन्त निरंकारी मिशनबारे जानकारी दिँदै भन्नुभयो कि सन्त निरंकारी मिशन कुनै प्रचलित धर्म वा सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा हो। उहाँका अनुसार, निराकार प्रभुको ज्ञान प्राप्त गरेपछि भक्ति गर्दै मर्यादित जीवन जिउनु नै मिशनको मूल पद्धति हो।

मिशनले परमपिता परमात्माको प्रत्येक घट–घटमा दर्शन गराउँदै संसारमा विश्व–बन्धुत्व स्थापना गरिरहेको छ। ब्रह्मज्ञान प्रदान गर्ने व्यक्तित्व सत्गुरु हुनुहुन्छ। ब्रह्मज्ञान प्राप्त गरेपछि, जसले निरंकारलाई कण–कणमा अनुभव गर्दै उहाँको स्मरण, सत्यका ज्ञाताहरूको संगत तथा प्राणीहरूको सेवामा तल्लीन रहन्छ, त्यस्तो व्यक्तिलाई ‘निरंकारी’ भनिन्छ।
उहाँले निरंकारी मिशनको प्रचार सन् १९२९ मा बाबा बूटा सिंह जीले पाकिस्तानको पेशावरबाट सुरु गर्नुभएको जानकारी दिनुभयो। त्यसपछि सन् १९४३ मा मिशनको जिम्मेवारी बाबा अवतार सिंह जीले सम्हाल्नुभयो। सन् १९६२ मा यो जिम्मेवारी बाबा गुरबचन सिंह जीलाई सुम्पिएको थियो। अप्रिल १९८० मा उहाँको बलिदानपछि सद्गुरु बाबा हरदेव सिंह जी महाराजले जिम्मेवारी निर्वाह गर्नुभयो। त्यसपछि मे २०१६ देखि माता सविन्दर हरदेव जी महाराजले जिम्मेवारी सम्हाल्नुभयो। हाल जुलाई २०१८ देखि सद्गुरु माता सुदीक्षा जी महाराजले मिशनको बागडोर सम्हालिरहनुभएको छ।

उहाँले निराकार परमात्मा अटल, एकरस, पूर्ण र आनन्दस्वरूप हुनुहुन्छ र उहाँसँग जोडिएर प्राप्त हुने आनन्द नै स्थायी हुने बताउनुभयो।
उहाँले अगाडि भन्नुभयो कि एक परमपिता परमात्माको ज्ञान प्राप्त भएपछि मानिसमा सहज रूपमा परस्पर भाइचारा भावना जागृत हुन्छ। यसले आपसी मतभेद, ईर्ष्या र द्वेष स्वतः अन्त्य गर्दै प्रेमको भावना विकास गर्छ। हामी सबै एउटै परमात्माका सन्तान हौँ भन्ने भावना जागृत हुँदा विश्वमा शान्ति कायम हुन्छ। त्यसैले परमात्माको ज्ञान बिना विश्व–बन्धुत्व स्थापना सम्भव छैन भन्ने उहाँको भनाइ थियो।
मिशनबारे जानकारीपछि उहाँले कैलालीको सडकपुर बौनियाँमा चैत्र १३ गते आयोजना हुने ‘सुदूर प्रदेश महिला समागम’ को जानकारी दिनुभयो। महिलाहरू प्रायः घरायसी कार्यमै व्यस्त रहने भएकाले उनीहरूलाई आध्यात्मिक क्षेत्रमा पनि उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।
अध्यक्ष रावलले समागममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट करिब ५,००० महिला सन्त–भक्तहरूको सहभागिता रहने अपेक्षा गरिएको जानकारी दिनुभयो। कार्यक्रमको तयारीका लागि स्थानीय सन्तहरू दिनरात सेवामा समर्पित भई समागम स्थल तथा वरपरका सडक पेटीहरूको सरसफाइ गरिरहेका उहाँले बताउनुभयो।
समागममा सहभागी सबै सन्त–भक्तहरूका लागि भण्डाराको व्यवस्था गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख देवराज रिमालले जानकारी दिनुभयो।
कार्यक्रमको अन्त्यमा पत्रकारहरूले मिशनसम्बन्धी सोधेका विभिन्न प्रश्नहरूको जवाफ मण्डलका केन्द्रीय सदस्यहरूले दिएका थिए, जसबाट पत्रकारहरू सन्तुष्ट भएका थिए।
कार्यक्रममा मण्डलका केन्द्रीय सचिव अनिल महर्जन, कोषाध्यक्ष कृष्णकन्हैया पाठक तथा सदस्यहरू नर बहादुर बटाला र बाबुराज महर्जनको उपस्थिति रहेको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.