‘स्वच्छ जल, स्वच्छ मन’ सन्देशसहित शिवराजमा सरसफाइ कार्यक्रम

कपिलवस्तु, वैशाख २६ । सन्त निरंकारी मण्डलको आयोजनामा विश्वव्यापी रूपमा सञ्चालन भइरहेको ‘प्रोजेक्ट अमृत’ अन्तर्गत शिवराज नगरपालिका स्थित हल्लानगर सुरई घाट (शवदाह स्थल) क्षेत्रमा वृहत् सरसफाइ अभियान सम्पन्न भएको छ।

मानवता, सेवा र वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा नदी तथा घाट क्षेत्रमा फैलिएको फोहोर संकलन तथा व्यवस्थापन गरिएको थियो। सरसफाइमार्फत स्वच्छ वातावरण निर्माणका साथै जलस्रोत संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमसँगै आयोजना गरिएको आध्यात्मिक सत्संगमा सकारात्मक सोच, मानव सेवा, आत्मिक शुद्धता तथा सामाजिक उत्तरदायित्वका विषयमा प्रकाश पारिएको थियो। वक्ताहरूले बाह्य वातावरण सफा राख्नुसँगै मनभित्रका नकारात्मक सोच र विकार हटाउन पनि आवश्यक रहेको उल्लेख गरेका थिए।

सरसफाइ अभियानमा स्थानीय श्रद्धालु भक्तजन, नगरवासी, युवा स्वयंसेवक तथा सन्त निरंकारी मण्डलसँग आबद्ध व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले श्रमदानमार्फत घाट क्षेत्र सफा गर्दै वातावरण संरक्षण सबै नागरिकको साझा दायित्व भएको बताएका थिए।

कार्यक्रममा सहभागीहरूले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै युवापुस्तामा सेवा, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।

आयोजक संस्थाले कार्यक्रममा सहभागी भई श्रमदान तथा सत्संगको लाभ लिनुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.