लम्कीचुहा अस्पतालको नेतृत्व विवाद चर्कियो

लक्ति, ८ जेठ । सुदूरपश्चिम प्रदेश सरकार र लम्कीचुहा नगरपालिका बीचको विवादका कारण लम्कीचुहा अस्पताल सञ्चालन प्रभावित बनेको छ। सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि चिकित्सकसहित तीन जना कर्मचारी खटाए पनि नगरपालिकासँग समन्वय नभएको भन्दै उनीहरूलाई काम गर्न अवरोध गरिएको आरोप लागेको छ।
नगरपालिकाकी मेयर सुशीला शाही ले अस्पताल नगरपालिका मातहतमै रहेको दाबी गर्दै प्रदेश सरकारले पठाएका कर्मचारीलाई हाजिर हुन नदिएको बताइएको छ। यस क्रममा केही कर्मचारीमाथि दुर्व्यवहार भएको आरोपसमेत लागेको छ।


विवाद बढ्दै जाँदा एक पक्षले नगरपालिकामा तालाबन्दीसमेत गरेको थियो। यस घटनापछि सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री कमलबहादुर शाह र मेयर शाहीबीच राजनीतिक तथा प्रशासनिक मतभेद सतहमा आएको देखिएको छ।
सामाजिक विकास मन्त्री मेघराज खड्का ले मेयर शाही अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बन्न चाहेको तर त्यसका लागि कानुनी व्यवस्था नभएको बताएका छन्। तर, बयलपाटा प्रादेशिक अस्पतालमा सम्बन्धित नगरपालिकाका मेयर अध्यक्ष रहेको उदाहरण दिँदै प्रदेश सरकारले दोहोरो नीति अपनाएको प्रश्न उठ्न थालेको छ।
प्रदेश सरकारले हाल १२ वटा अस्पताललाई ५० शैयाका प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिरहेको छ। बयलपाटा अस्पतालका लागि छुट्टै गठन आदेश जारी गरिएको भए पनि अन्य अस्पताल पुरानै संरचनाअनुसार सञ्चालनमा रहेकाले व्यवस्थापनमा फरक देखिएको मन्त्रालयको भनाइ छ।
यस घटनाले प्रदेश सरकार र स्थानीय तहबीच समन्वय अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित हुने अवस्था देखिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.