राजनीति

सुदूरपश्चिममा देउवा पक्षको भेला : गगन थापाप्रति आक्रोश, सदस्यता अद्यावधिक नगर्ने साझा सङ्कल्प

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । कांग्रेस सभापतिमा निर्वाचित भएपछि सुदूरपश्चिम गएका गगनकुमार थापाले पार्टीलाई एकताबद्ध गरेर अघि बढ्ने संकेत गरेका थिए।

अघिल्लो महिनाको २६ गते प्रदेश र स्थानीय तह केन्द्रित ‘प्रदेश स्तरीय भेला’का लागि सुदूरपश्चिम आएर निवर्तमान सभापति शेरबहादुर देउवानिकट नेता तथा कार्यकर्तालाई कुनै विभेद नगर्ने बताएका थिए।

बिज्ञापन

सभापति थापाले सुदूरपश्चिमबाट पार्टीलाई एकताबद्ध बनाउने उद्घोष गरे पनि यहाँका देउवा पक्षका नेता–कार्यकर्ताहरू सभापति थापाको आश्वासनप्रति विश्वस्त देखिएका छैनन्।

कैलालीको धनगढीमा आइतबार सम्पन्न प्रदेश भेलालाई सम्बोधन गर्ने अधिकांश नेता–कार्यकर्ताहरूले पार्टी सभापति थापाप्रति आक्रोश व्यक्त गरेका थिए। उनीहरूले अहिले कांग्रेस कमजोर हुनुको सबैभन्दा ठूलो जड सभापति थापालाई नै देखेका थिए।

कार्यक्रममा उपस्थित १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू तथा जिल्ला सभापतिहरूले १५औँ नियमित महाधिवेशनको तयारी हुँदैहुँदै विशेष महाधिवेशनमार्फत पार्टीलाई कमजोर बनाउन खोजिएको आरोप लगाएका थिए।

नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीमा मेलमिलापका लागि विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्ने जिम्मेवारी सभापति थापाको भएको बताएका थिए।

‘अधिवेशनमा नगएका साथीहरूका बीचमा समन्वय र एकता स्थापित गर्नुस्, ’ भेलाका प्रमुख अतिथि साउदले भने, ‘क्रियाशील सदस्यताका बारेमा थप विवाद नगर्नुस्। ’

क्रियाशील सदस्यले अनुशासन तोडेको भए अनुशासनको कारबाही गर्ने प्रक्रिया पार्टीको विधानले नै तय गरिसकेको भन्दै उनले सदस्यता अद्यावधिकको बखेडा अहिले झिक्न आवश्यक नभएको बताएका थिए।

विशेष अधिवेशनमा सहभागी भएका र असहमत भएकाबीच एकता र समन्वयपछि मात्रै १५औँ महाधिवेशन प्रभावकारी रूपमा आयोजना गर्न सकिने नेता साउदको भनाइ थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।