विश्व वातावरण दिवसको अवसरमा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम

टीकापुर, २४ जेठ । विश्व वातावरण दिवसको अवसरमा सन्त निरंकारी सत्संग भवन टीकापुरले सरसफाइ, वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरी वातावरण दिवस मनाएको छ । वातावरण संरक्षणलाई केवल एक दिनको औपचारिक कार्यक्रममा सीमित नराखी व्यवहारिक रुपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ सत्संग भवन परिसर र सन्त निरंकारी आदर्श विद्या मन्दिर क्षेत्रमा सरसफाइ तथा वृक्षारोपण गरिएको छ ।

कार्यक्रम अन्तर्गत सत्संग भवन र विद्यालय परिसरमा रहेका अनावश्यक झारपात, फोहरमैला, सुकेका काठ तथा अन्य अव्यवस्थित सामग्रीको व्यवस्थापन गरिएको छ । साथै परिसरका खाली स्थानहरुमा जामुनका बिरुवा रोपेर हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणमा योगदान पु¥याउने प्रयास गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले सन्त निरंकारी मिशनले वातावरण संरक्षणलाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्षका रुपमा ग्रहण गर्दै आएको बताउनुभयो । उहाँले मिशनले विगत धेरै वर्षदेखि विश्व वातावरण दिवसका अवसरमा नेपाल, भारत तथा विश्वका विभिन्न देशहरुमा सरसफाइ, वृक्षारोपण र वातावरणीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले नेपालमा पनि जेठ २२ गतेदेखि विभिन्न सत्संग भवनहरुको समन्वयमा सप्ताहव्यापी वातावरण संरक्षण अभियान सञ्चालन भइरहेको बताउनुभयो । अभियान अन्तर्गत वातावरणीय चेतना अभिवृद्धि, सार्वजनिक स्थलको सरसफाइ, वृक्षारोपण तथा वातावरणप्रति जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका उहाँको भनाइ थियो ।

अध्यक्ष रावलले वातावरण संरक्षणलाई केवल बाह्य सरसफाइसँग मात्र नजोडी मानवको आन्तरिक चेतनासँग समेत सम्बन्धित विषयका रुपमा व्याख्या गर्नुभयो । उहाँले सत्गुरु बाबा हरदेव सिंह जी महाराजको भनाइलाई उद्धृत गर्दै भन्नुभयो, “प्रदूषण भित्र होस् वा बाहिर, दुवै दुःखदायी हुन्छ ।” उहाँका अनुसार बाह्य वातावरणलाई स्वच्छ राख्न सरसफाइ, वृक्षारोपण र संरक्षणका गतिविधि आवश्यक भएजस्तै मनभित्र रहेको अज्ञानता, नकारात्मक सोच, घृणा, ईष्र्या तथा अहंकारजस्ता विकारहरु हटाउन आध्यात्मिक ज्ञान आवश्यक हुन्छ ।
उहाँले ब्रम्हज्ञानलाई आन्तरिक शुद्धीकरणको माध्यमका रुपमा उल्लेख गर्दै सेवा, सत्संग र सुमिरणमार्फत व्यक्तिले आफ्नो जीवनलाई सकारात्मक दिशातर्फ अग्रसर बनाउन सक्ने बताउनुभयो । भित्री र बाहिरी दुवै प्रकारका प्रदूषणमुक्त समाज निर्माण गर्न आध्यात्मिक चेतना र सामाजिक जिम्मेवारीबीच सन्तुलन आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

त्यसैगरी, सन्त निरंकारी सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारीले वातावरण संरक्षण आजको विश्वव्यापी आवश्यकता बनेको बताउनुभयो । उहाँले प्रदूषण कुनै एक स्थान वा समुदायको मात्र समस्या नभई सम्पूर्ण मानव जातिको साझा चुनौती भएको उल्लेख गर्दै यसको समाधानका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो ।
मुखी भण्डारीले बाबा हरदेव सिंह जी महाराजले दिनुभएको “भित्री र बाहिरी दुवै प्रदूषण हटाउनुपर्छ” भन्ने सन्देशलाई आत्मसात् गर्दै सन्त निरंकारी मिशनले विभिन्न स्थानमा सरसफाइ, वृक्षारोपण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । सोही अभियान अन्तर्गत टीकापुरमा पनि सत्संग भवन तथा विद्यालय परिसरको सरसफाइ गरी वातावरणलाई स्वच्छ र व्यवस्थित बनाउने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा सत्संग भवनका सेवादलका जवान, स्थानीय सन्त–महात्मा, भक्तजन तथा समुदायका अन्य व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरुले वातावरण संरक्षणलाई व्यक्तिगत तथा सामाजिक दायित्वका रुपमा ग्रहण गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सन्त निरंकारी मिशनले विश्व वातावरण दिवसलाई केवल औपचारिक रुपमा मनाउने नभई व्यवहारिक कार्यमार्फत वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्य राख्दै आएको जनाएको छ । मिशनका अनुसार स्वच्छ वातावरण, हरियाली प्रवद्र्धन र मानवीय चेतनाको विकासमार्फत स्वस्थ, समृद्ध र सकारात्मक समाज निर्माणमा योगदान पु¥याउने लक्ष्यका साथ यस्ता कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.