घटना

बाजुरामा ब्रेक फेल भई बस दुर्घटना, २४ जना घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बजुरा, ७ असार । बाजुराको बुढीगंगा नगरपालिका–८ स्थित रिठाबजार क्षेत्रमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था सामान्यदेखि मध्यम रहेको जनाइएको छ।

प्रहरीका अनुसार महेन्द्रनगरबाट बाजुराको सदरमुकाम मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस साँफेबगर–मार्तडी सडकखण्डअन्तर्गत रिठाबजार नजिकै पुग्दा ब्रेक फेल भई सडकको बाँया किनारस्थित नालीतर्फ पल्टिएको थियो।

बिज्ञापन

दुर्घटनाका बेला बसमा चालकसहित ३३ जना सवार रहेका थिए। तीमध्ये २४ जना घाइते भएका छन् भने ९ जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये २३ जनाको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि अछामस्थित बयलपाटा प्रादेशिक अस्पतालमा रेफर गरिएको छ। चिकित्सकका अनुसार अधिकांश घाइतेहरूको स्वास्थ्य अवस्था निगरानीमा राखिएको छ र आवश्यक उपचार जारी रहेको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीको टोली घटनास्थलमा पुगेको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। दुर्गम पहाडी सडकमा भएको दुर्घटनाका कारण केही समय यातायात आवागमनसमेत प्रभावित भएको बताइएको छ।

प्रारम्भिक अनुसन्धानबाट बसको ब्रेक प्रणालीमा समस्या आएपछि दुर्घटना भएको अनुमान गरिएको भए पनि दुर्घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

साँफेबगर–मार्तडी सडकखण्ड पहाडी तथा घुम्ती धेरै भएको जोखिमयुक्त सडकका रूपमा परिचित छ। यस क्षेत्रमा बेला–बेलामा सवारी दुर्घटनाका घटना दोहोरिने गरेका छन्। स्थानीयवासीले सडक सुरक्षा, सवारीसाधनको नियमित प्राविधिक परीक्षण तथा सावधानीपूर्वक सवारी सञ्चालनमा सम्बन्धित निकायले थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।