गुल्मीमा अनौठो घटना : एकैपटक चार छोरी जन्माइन्

गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका–५ की २५ वर्षीया विष्णा बिकले एकैपटक चार छोरीलाई जन्म दिएकी छन्। शुक्रबार प्रसूति व्यथा लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनले घर, गाडी र अस्पताल गरी तीन फरक स्थानमा सन्तान जन्माएकी हुन्।
परिवारका अनुसार विष्णाले पहिलो छोरीलाई घरमै जन्म दिएकी थिइन्। त्यसपछि अस्पताल लैजाँदै गर्दा गाडीमै दोस्रो छोरीको जन्म भएको थियो। जिल्ला अस्पताल बिजुवार पुगेपछि उनले सामान्य प्रसूति मार्फत थप दुई छोरीलाई जन्म दिएकी हुन्।

चार नवजातमध्ये घरमा र गाडीमा जन्मिएका दुई छोरीको निधन भएको छ। अस्पतालमा जन्मिएका अन्य दुई छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पताल बिजुवारले जनाएको छ।
विष्णाका यसअघि ८ वर्ष र ६ वर्षका दुई छोरी छन्। उनका श्रीमान रोजगारीका सिलसिलामा भारतको सिमलामा रहेका छन्।
यस घटनाले दुर्गम क्षेत्रमा समयमै स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ, सुरक्षित प्रसूति सेवाको पहुँच र आकस्मिक मातृ स्वास्थ्य सेवाको अवस्थाबारे पुनः प्रश्न उठाएको छ। स्थानीयवासीले ग्रामीण तथा दुर्गम बस्तीमा मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
