टीकापुर नगरपालिकाको मुद्दा दोस्रो पटक पनि ‘हेर्न नभ्याइने’ मा

टीकापुर ।सर्वोच्च अदालतमा विचाराधीन रहेको टीकापुर नगरपालिकाको कार्यवाहक मेयरसम्बन्धी मुद्दा दोस्रो पटक पनि सुनुवाइ हुन सकेन। सोमबारका लागि तोकिएको पेशीमा मुद्दा सूची नम्बर १४ मा परे पनि “हेर्न नभ्याइने” मा परेपछि सुनुवाइ स्थगित भएको हो।

यसअघि असार ८ गते पनि उक्त मुद्दा सूची नम्बर ३४ मा परेको थियो। तर त्यसबेला पनि “हेर्न नभ्याइने” मा परेकाले सुनुवाइ हुन सकेको थिएन।

मुद्दाको टुंगो नलाग्दा नगरपालिकाको प्रशासनिक तथा सेवा प्रवाह प्रभावित भएको जनाइएको छ। विशेषगरी असाध्यै रोगबाट पीडित नागरिकलाई उपलब्ध गराइने सरकारी उपचार सहायता लगायतका विभिन्न सेवामा असर परेको सरोकारवालाहरूको भनाइ छ।

न्यायालयप्रति सम्मान व्यक्त गर्दै स्थानीयवासीले न्यायिक प्रक्रियामा भइरहेको ढिलाइका कारण यसको प्रत्यक्ष असर सर्वसाधारण नागरिकको दैनिक जीवनमा परेको बताएका छन्।
टीकापुरवासीले अब उक्त मुद्दाको यथाशीघ्र सुनुवाइ गरी कानुनअनुसार निष्पक्ष र समयमै निर्णय आउने अपेक्षा गरेका छन्।


