सुत्केरीपछि मिर्गौला गम्भीर रूपमा प्रभावित, उपचारका लागि सहयोगको अपिल गर्दै २२ वर्षीया अस्मिता

कपिलवस्तु — कपिलवस्तुकी २२ वर्षीया अस्मिता खनाल सुत्केरीपछि उत्पन्न जटिल स्वास्थ्य समस्याका कारण जीवन बचाउन कठिन संघर्ष गरिरहेकी छन्। लामो समयदेखि उपचाररत उनी अहिले महँगो औषधिको भरमा बाँचिरहेकाे परिवारले जनाएको छ।
परिवारका अनुसार गत वर्ष असारको तेस्रो सातातिर सुत्केरी हुने क्रममा अस्मितालाई अचानक अत्यधिक रक्तस्राव भएपछि एम्बुलेन्समार्फत बुटवल लगिएको थियो। त्यहाँ चिकित्सकहरूले भ्याकुम प्रविधिबाट सुत्केरी गराउँदै उनले एक छोरा जन्म दिएकी थिइन्।

सुत्केरीपछि पनि रक्तस्राव नरोकिएपछि उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको थियो। लगातारको रक्तस्रावका कारण मिर्गौलामा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि उनलाई काठमाडौंस्थित शिक्षण अस्पतालमा रिफर गरिएको परिवारले जनाएको छ।
शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर चिकित्सकहरूले हप्तौँसम्म दिनमा दुईदेखि तीन पटकसम्म डायलाइसिस गरेका थिए। उपचारपछि उनको ज्यान जोगिए पनि एउटा मिर्गौलाले पूर्ण रूपमा काम गर्न छाडेको र अर्को मिर्गौलाले करिब २५ प्रतिशत मात्र काम गरिरहेको बताइएको छ।
हाल अस्मिता नियमित रूपमा महँगो औषधि सेवन गरिरहेकी छन्। परिवारका अनुसार उनको उपचार र औषधिमा मासिक ३० देखि ४० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ। लामो समयदेखि उपचार गराउँदा परिवारको आर्थिक अवस्था कमजोर बनेको र उपचारलाई निरन्तरता दिनसमेत कठिनाइ भएको जनाइएको छ।
एक वर्षको छोराको स्याहारसँगै आफ्नो उपचार गराइरहेकी अस्मिताले उपचार खर्च जुटाउन समस्या भएको भन्दै सहयोगी मन भएका सबैसँग आर्थिक सहयोगको अपिल गरेकी छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
