अछाममा कर्णाली नदी किनारमा भेटिएको महिलाको शव सुर्खेत ल्याइँदै, पहिचान अझै खुलेन

अछाम । अछामको ढकारी गाउँपालिका अन्तर्गत कर्णाली नदी किनारमा भेटिएको एक महिलाको शव सुरक्षाकर्मीको टोलीले सुर्खेतको बाबियाचौरतर्फ ल्याइरहेको छ। शव बोकेर फर्किएको टोलीसँग दुर्गम भूगोल तथा सञ्चार सम्पर्कको समस्याका कारण हालसम्म सम्पर्क हुन नसकेको जनाइएको छ।

प्रहरीका अनुसार मृतक महिलाको पहिचान अझै खुल्न सकेको छैन। प्रारम्भिक अनुमानअनुसार उक्त शव असार १८ गते दैलेखको साङ्गेतडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा सवार यात्रुमध्ये एक महिलाको हुन सक्ने आशंका गरिएको छ।

यसअघि उक्त दुर्घटनामा बेपत्ता भएका पाँच जनामध्ये दुई जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ। अहिले भेटिएको शव पनि सोही दुर्घटनाकी महिलाको भएको पुष्टि भएमा गाडीमा सवारमध्ये चालक, सहचालक र अर्का एक यात्रुको अवस्था अझै अज्ञात रहनेछ।

शव फेला परेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाबियाचौर, प्रहरी चौकी विजौरा तथा सशस्त्र प्रहरी बलको गुटुस्थित टोली घटनास्थल पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पहिचान तथा पोस्टमार्टमका लागि सुर्खेत ल्याइँदै गरिएको जनाइएको छ।
प्रहरीका अनुसार शव भेटिएको स्थान दुर्घटना भएको क्षेत्रबाट करिब १०० किलोमिटर तल चौकुने गाउँपालिकाको डाङडुङ्गे क्षेत्रस्थित कर्णाली नदी किनार हो। बेपत्ता गाडी र अन्य यात्रुको खोजी कार्य भने अझै जारी रहेको छ।


