थारु समुदायमा ‘हर्डहुवा’ पर्वको रौनक, खेतीपातीपछि उल्लासमय रूपमा मनाइँदै

टीकापुर, असार । धान रोपाइँसहित वर्षायामको मुख्य खेतीपाती सम्पन्न भएपछि थारु समुदायमा परम्परागत ‘हर्डहुवा’ पर्व मनाउने चलन सुरु भएको छ। कैलालीका विभिन्न थारु बस्तीमा यतिबेला हर्डहुवाको रौनक छाएको छ।
थारु समुदायको पुर्ख्यौली परम्पराअनुसार खेतीपातीको मुख्य काम सकिएपछि आफन्त, छिमेकी, संघारिया र चेलीबेटीलाई घरमा निम्तो दिई सामूहिक रूपमा खानपिन, भेटघाट र मनोरञ्जन गर्ने परम्परालाई हर्डहुवा भनिन्छ। यस अवसरमा फुलौरी, खरिया, बरिया, सुरीको मासु, जाँडको झोल तथा महुवाको मदिरालगायत परम्परागत परिकार तयार गरिन्छ।

गौरीगंगा नगरपालिका–१० नुक्लीपुरका दिनेश दहितका अनुसार हर्डहुवाले आफन्तबीचको सम्बन्ध थप प्रगाढ बनाउने काम गर्छ। यस अवसरमा गीत गाउने, पुराना कथा सुनाउने, रमाइला किस्सा साटासाट गर्ने तथा सामूहिक रूपमा खुसी साट्ने परम्परा रहेको उनले बताए।
थारु समुदायका अनुसार बर्खायाम खेतीपातीका लागि सबैभन्दा कठिन समय मानिन्छ। हिलो, वर्षा, विषालु जीवजन्तु र लामो समयको श्रमपछि हुने शारीरिक थकान बिर्सन तथा आपसी सद्भाव बढाउन हर्डहुवा मनाउने चलन बसालिएको हो। विगतमा सञ्चारका साधनको अभाव हुँदा टाढा रहेका चेलीबेटी र आफन्तसँग भेटघाट गर्ने अवसरका रूपमा पनि यस पर्वलाई लिने गरिएको थियो।
यस वर्ष असार २३ गते गौरीगंगा नगरपालिका–११ नुक्लीपुरमा सामूहिक रूपमा हर्डहुवा मनाइएको थियो। त्यसैगरी धनगढी उपमहानगरपालिका–१६ भादा, कैलारी गाउँपालिका–५ जवदहुवा, छुट्की पलिया र बर्का पलियालगायतका थारु बस्तीमा पनि पर्व उल्लासपूर्वक मनाइएको छ।
यस्तै, असार २६ गते कैलारी गाउँपालिका–३ बर्का मुडा र खोनपुर तथा वडा नम्बर–५ पवेरामा हर्डहुवा मनाइएको छ। शनिबार कैलारी गाउँपालिका–७ अन्तर्गत छटकपुर–बसन्तामा पनि पर्व मनाइँदै छ भने भुइयाँफाँटा गाउँमा असार ३२ गते हर्डहुवा मनाउने कार्यक्रम तय गरिएको स्थानीयले जनाएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
