हार्वर्डको पूर्ण छात्रवृत्ति छाडेका १९ वर्षीय नेपालीले AI कम्पनीमा भित्र्याए २४ मिलियन डलर लगानी

काठमाडौं । हार्वर्ड विश्वविद्यालयको पूर्ण छात्रवृत्ति त्यागेर आफ्नै कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी स्थापना गरेका १९ वर्षीय नेपाली युवा आदित्य सुवेदीले विश्व प्रविधि क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन्।
काठमाडौंमा जन्मिएका तथा मोरङ घर भएका सुवेदीले स्थापना गरेको आर्किटेक्ट ल्याब्स (Architect Labs) ले हालै २४ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब २३ करोड रुपैयाँ) बराबरको ‘सिड फन्डिङ’ जुटाएको छ। उक्त लगानी Kindred Ventures को नेतृत्वमा आएको हो।

सुवेदीले काठमाडौंको अक्षरा स्कुलबाट माध्यमिक शिक्षा र युलेन्स स्कुलबाट आईबीडीपी (IBDP) पूरा गरेका थिए। त्यसपछि उनी कम्प्युटर साइन्स र गणित अध्ययनका लागि हार्वर्ड विश्वविद्यालय पुगेका थिए। अध्ययनका क्रममा उनले प्राप्त गरेको करिब ४ लाख अमेरिकी डलर (करिब ५ करोड रुपैयाँ) बराबरको पूर्ण छात्रवृत्ति दोस्रो वर्षमै त्यागेर आफ्नै कम्पनी निर्माणमा लागेका हुन्।
आर्किटेक्ट ल्याब्सले माइक्रोप्रोसेसर चिप डिजाइन प्रक्रियालाई कृत्रिम बुद्धिमत्तामार्फत छिटो, सहज र कम खर्चिलो बनाउने प्रविधि विकास गरिरहेको छ। अहिले नयाँ चिप डिजाइन गर्न लाग्ने लामो समय, उच्च लागत र ठूलो जनशक्तिको आवश्यकतालाई एआईमार्फत घटाउने लक्ष्य कम्पनीको रहेको छ।
काठमाडौँ पोस्टसँगको अन्तर्वार्तामा सुवेदीले अहिलेको समयलाई औद्योगिक क्रान्तिपछिको सबैभन्दा ठूलो प्रविधि परिवर्तनको चरणका रूपमा व्याख्या गर्दै दर्शक बनेर बस्नुभन्दा नेतृत्व गर्ने उद्देश्यले हार्वर्ड छाडेको बताएका छन्।
उनका अनुसार एआईले भविष्यमा काम गर्ने तरिका परिवर्तन गर्नेछ र धेरै रोजगारीको स्वरूप फेरिनेछ। तर, यही परिवर्तनले नयाँ पुस्ताका लागि विश्वस्तरमा अवसर पनि सिर्जना गर्ने उनको विश्वास छ।
नेपाली युवालाई सन्देश दिँदै सुवेदीले भनेका छन्, “म काठमाडौंको सामान्य केटा हुँ। नेपालमा मभन्दा धेरै प्रतिभाशाली र मिहिनेती युवाहरू छन्। हामी सानो देशबाट आएका हौँ भनेर पछि हट्नु पर्दैन। गुमाउनका लागि केही छैन, ठूलो सपना देख्नुहोस् र आँट गर्नुहोस्।”
१९ वर्षको उमेरमै हार्वर्डको आकर्षक छात्रवृत्ति त्यागेर उद्यमशीलताको जोखिम रोजेका सुवेदीको सफलता नेपाली युवाका लागि प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
