नागढुङ्गा सुरुङमार्गको शिलालेखबाट ओलीको नाम हटाइएको विषयमा ज्ञानेन्द्र शाहीको टिप्पणी

काठमाडौं, १२ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास शिलालेखबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको विषयलाई लिएर राजनीतिक दलहरूले विगतमा गरेको व्यवहारकै परिणाम आज देखिएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद शाहीले सुरुङमार्गबाट ओलीको नाम हटाइएको विषयमा दुःख मान्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। उनले विगतमा राजा र राजतन्त्रसँग जोडिएको इतिहास तथा संरचनाहरूको नाम परिवर्तन गर्दै इतिहास मेटाउने प्रयास भएकाले अहिले त्यही प्रवृत्तिको असर देखिएको उल्लेख गरेका छन्।
शाहीले लेखेका छन्, “हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए। हिजो त हुँदाहुँदै राजमार्गहरूको नामसमेत फेरियो। राजाका पालामा बनेका संरचना र त्यससँग जोडिएको इतिहास योजनाबद्ध रूपमा मेटाउने प्रयास तिमीहरूले नै गर्यौ।”
विगतमा राजाका पालामा बनेका संरचना तथा राजमार्गहरूको नाम परिवर्तन गरिएको प्रसङ्ग स्मरण गराउँदै उनले एउटा लोककथाको उदाहरणसमेत दिएका छन्। वृद्ध आमालाई भीरबाट फाल्न लैजाँदा नातिले त्यही डोको पछि आफूलाई पनि आवश्यक पर्ने भन्दै फिर्ता ल्याउन आग्रह गरेको कथालाई उद्धृत गर्दै शाहीले आज अरूको इतिहास मेटाउनेहरूले भविष्यमा आफ्नै इतिहास मेटिने अवस्था भोग्नुपर्ने चेतावनी दिएका छन्।
सांसद शाहीले इतिहास मेटाउने गलत परम्पराको सुरुआत गर्नेहरूलाई नै आजको परिस्थिति फर्केर आएको दाबी गर्दै इतिहासलाई सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्नेमा जोड दिएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
