आँखा बिना पनि देख्न सकिने दाबी, मस्कको ‘ब्लाइन्डसाइट’ चिप मानवमा प्रत्यारोपण हुँदै

काठमाडौं, २० साउन । अमेरिकी अर्बपति तथा प्रविधि उद्यमी इलोन मस्कले आफ्नो कम्पनी न्युरालिंक (Neuralink) ले विकास गरिरहेको ‘ब्लाइन्डसाइट (Blindsight)’ नामक मस्तिष्क चिपको पहिलो मानव प्रत्यारोपण आगामी ६ देखि १२ महिनाभित्र गर्ने लक्ष्य रहेको बताएका छन्। दृष्टिविहीन व्यक्तिलाई पुनः दृश्य अनुभव गराउने उद्देश्यसहित विकास भइरहेको यो प्रविधिले विश्वभर चर्चा बटुलेको छ।
मस्कका अनुसार ब्लाइन्डसाइटले आँखा वा दृष्टि स्नायुको सहारा नलिई सिधै मस्तिष्कको भिजुअल कोर्टेक्स मा विद्युतीय संकेत पठाउनेछ। यसबाट दृष्टि गुमाएका व्यक्तिलाई दृश्य अनुभव गराउने सम्भावना रहेको उनको दाबी छ।
उनले भविष्यमा यो प्रविधिले सामान्य मानव आँखाले देख्न नसक्ने इन्फ्रारेड र अल्ट्राभायोलेटजस्ता प्रकाशसमेत अनुभव गर्न सक्ने क्षमता विकास हुन सक्ने उल्लेख गरेका छन्। तर यो सम्भावित भविष्यको अवधारणा मात्र भएको र त्यसलाई पुष्टि गर्ने वैज्ञानिक प्रमाण हाल उपलब्ध छैन।
यद्यपि ब्लाइन्डसाइटसम्बन्धी मस्कका दाबीलाई पुष्टि गर्ने समकक्षी समीक्षा (पीयर–रिभ्यु) गरिएको वैज्ञानिक अध्ययन हालसम्म सार्वजनिक भएको छैन। यसका साथै स्वतन्त्र वैज्ञानिक तथा चिकित्सकहरूले पनि यसको प्रभावकारिता, दीर्घकालीन सुरक्षा र सफलताबारे निष्कर्ष निकाल्न थप मानव परीक्षण तथा स्वतन्त्र अनुसन्धान आवश्यक पर्ने बताएका छन्।
यसअघि न्युरालिंकले मस्तिष्कमा प्रत्यारोपण गरिने चिपमार्फत पक्षाघात भएका बिरामीलाई कम्प्युटर नियन्त्रण गर्न सहयोग गर्ने प्रारम्भिक मानव परीक्षण गरिसकेको छ। ब्लाइन्डसाइट भने दृष्टिविहीन व्यक्तिका लागि विकसित नयाँ परियोजना हो, जसको सफल परीक्षण भएमा दृष्टि पुनर्स्थापनाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुन सक्ने अपेक्षा गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
