लम्कीचुहामा नयाँ प्रमुख प्रशासकीय अधिकृत उपाध्याय हाजिर

लम्कीचुहा, २३ साउन । कैलालीको लम्कीचुहा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा गोकर्णप्रसाद उपाध्याय हाजिर भएका छन्। उनी शुक्रबारदेखि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन्।

पदभार ग्रहण गरेपछि नगर प्रमुख सुशीला शाहीसहित नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले उपाध्यायलाई दोसल्ला ओढाएर स्वागत गरेका थिए। कार्यक्रममा नगरपालिकाका कर्मचारीहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

यसैबीच, नगरपालिकामा करिब दुई वर्ष प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हालेकी शुषमा महता केसीलाई बिदाइ गरिएको छ। उनको काभ्रे जिल्लामा सरुवा भएपछि नगरपालिकाले एक कार्यक्रम आयोजना गरी मायाको चिनोसहित बिदाइ गरेको हो।

बिदाइ कार्यक्रममा नगर प्रमुख शाहीसहित नगरपालिकाका कर्मचारीहरूले केसीले आफ्नो कार्यकालमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना दिएका थिए।


