झारफुकका नाममा १४ वर्षीया बालिकामाथि निर्घात कुटपिट, ५९ वर्षीय चलाउने पक्राउ

जाजरकोट, २४ साउन । झारफुकका नाममा अन्धविश्वास फैलाउँदै १४ वर्षीया बालिकामाथि अमानवीय ढंगले कुटपिट गरेको आरोपमा जाजरकोटमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बारेकोट गाउँपालिका–६ का ५९ वर्षीय हिरालाल चलाउने रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले बिहीबार नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बालिकामाथि गत असार ५ गते दिउँसो करिब १ बजे कुटपिट भएको थियो। घटना भए पनि लामो समयसम्म सार्वजनिक भएको थिएन। झन्डै डेढ महिनापछि बालिकामाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई भाइरल भएपछि मात्रै प्रहरी घटनाबारे जानकारीमा पुगेको थियो।
भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै तत्काल अनुसन्धान तथा आरोपीको खोजी अघि बढाएको थियो। सोही क्रममा चलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रहरीले चलाउनेविरुद्ध थप अनुसन्धान अघि बढाउन जाजरकोट जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरेको छ। उनीमाथि बालिकालाई झारफुक गर्ने नाममा कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
घटनाको वास्तविक कारण, कुटपिटको प्रकृति तथा यसमा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
बालबालिकामाथि झारफुक, बोक्सी वा अन्य अन्धविश्वासका नाममा हुने हिंसा गम्भीर मानवअधिकार उल्लंघन तथा दण्डनीय अपराध भएकाले यस्ता घटना लुकाउनुको सट्टा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
