आस्था /आध्यात्म

विद्यार्थीलाई मानव सेवा र जीवनको लक्ष्यबारे प्रेरणा, सहारा घरका प्रबन्धक बिष्टले सुनाए अनुभव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

वर्दगोरिया, २४ साउन । वर्दगोरिया गाउँपालिकास्थित पुरानो निजी विद्यालय जगत तारा माध्यमिक विद्यालयका विद्यार्थी नानीबाबुलाई मानव सेवा, जीवनको उद्देश्य र भविष्यको लक्ष्यबारे प्रेरणादायी जानकारी प्रदान गरिएको छ।

विद्यालयका फाउण्डर ऐकेन्द्र मल्लको व्यवस्थापनमा विद्यार्थीहरूलाई जीवनका व्यवहारिक पक्ष, समाजप्रतिको जिम्मेवारी र मानव सेवाका विषयमा प्रत्यक्ष अनुभव तथा सिकाइसँग जोडेर प्रेरणादायी कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा सहारा घरका प्रबन्धक बलबहादुर बिष्टले विद्यार्थीहरूसँग मानव सेवा, सहयोग, सहानुभूति र सामाजिक उत्तरदायित्वका विषयमा आफ्ना अनुभव तथा भोगाइहरू साझा गर्नुभएको थियो। उहाँले जीवनमा आफूले देखेका, जानेका र भोगेका विषयलाई विद्यार्थीमाझ प्रस्तुत गर्दै असहाय, दुःखी तथा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्नु नै मानवताको महत्वपूर्ण पक्ष भएको सम्झाउनुभएको थियो।

बिष्टले विद्यार्थीहरूलाई पढाइसँगै असल संस्कार, अनुशासन, सकारात्मक सोच र सेवाभाव विकास गर्न आग्रह गर्नुभयो। समाजमा सफल हुनु भनेको व्यक्तिगत उपलब्धि हासिल गर्नु मात्र नभई आफूले सक्ने माध्यमबाट अरूको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउनु रहेको उहाँको भनाइ थियो।

उहाँले विद्यार्थी उमेरमै मानव सेवाको भावना विकास गर्न सके भविष्यमा जिम्मेवार र संवेदनशील नागरिक बन्न सहयोग पुग्ने बताउनुभयो। जीवनमा आउने चुनौती तथा कठिनाइबाट निराश नभई त्यसबाट सिकेर अघि बढ्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

कार्यक्रमको व्यवस्थापन तथा विद्यार्थीलाई यस्तो अवसर उपलब्ध गराउने काम भने विद्यालयका फाउण्डर ऐकेन्द्र मल्लले गर्नुभएको हो। विद्यार्थीहरूले समाजका विभिन्न क्षेत्रका व्यक्तिका वास्तविक अनुभव, संघर्ष र सेवाका गतिविधिबारे प्रत्यक्ष रूपमा सुन्न पाऊन् भन्ने उद्देश्यले कार्यक्रमको व्यवस्था मिलाइएको मल्लले बताउनुभयो।

कार्यक्रममा विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता र सम्भावना पहिचान गरी भविष्यको लक्ष्य निर्धारण गर्न तथा लक्ष्य प्राप्तिका लागि निरन्तर मेहनत गर्न प्रेरित गरिएको थियो। साथै, सामाजिक सेवामा जोडिन कुनै ठूलो पद वा आर्थिक क्षमता आवश्यक नपर्ने भन्दै आफ्नो समय, श्रम र ज्ञानबाट पनि समाजसेवा गर्न सकिने सन्देश दिइएको थियो।

विद्यालयमा भएको उक्त भेटघाट विद्यार्थीका लागि पढाइभन्दा बाहिरको व्यवहारिक ज्ञान र जीवनका अनुभव बुझ्ने अवसर बनेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा भएका अनुभव आदानप्रदान, मानव सेवासम्बन्धी प्रेरणादायी भनाइ तथा विद्यार्थीहरूसँगको कुराकानी समेटिएको भिडियोसमेत सार्वजनिक गर्ने तयारी गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।