भारतको राजकोटबाट लम्कीकी चार वर्षीया छोरा सहित नेपाली महिला बेपत्ता

राजकोट, १ भदौ । भारतको गुजरात राज्यस्थित राजकोटबाट कैलालीकी एक महिला आफ्ना चार वर्षीया छोरासहित सम्पर्कविहीन भएकी छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–४, कौवापुरकी सरस्वती बुढा आफ्ना चार वर्षीय छोरा शुसान्त सिंह ठकुरीसहित गत अगस्ट ७ तारिखदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

परिवारका अनुसार वीरबहादुर बुढाकी छोरी सरस्वती र उनका छोरा शुसान्त राजकोटबाट एकाएक सम्पर्कविहीन भएका हुन्। लामो समयदेखि सम्पर्क हुन नसकेपछि परिवारले उनीहरूको खोजीका लागि सहयोगको अपिल गरेको छ।

परिवारले राजकोट तथा आसपासका क्षेत्रमा रहेका नेपाली समुदाय, आफन्त तथा परिचितहरूलाई उनीहरूबारे कुनै जानकारी प्राप्त भए खोजीमा सहयोग गरिदिन आग्रह गरेको छ।
सरस्वती र उनका छोरा शुसान्तलाई कसैले देखेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी भए तत्काल परिवार तथा सम्बन्धित निकायलाई जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।


