भारतमा प्रवासी नेपालीका संघ–संगठनबीच सहकार्य, एकतामा जोड

नयाँ दिल्ली, १७ अगस्त । भारतको राजधानी नयाँ दिल्लीमा प्रवासी नेपालीसँग सम्बन्धित विभिन्न संघ–संगठनका प्रतिनिधिबीच भएको सकारात्मक भेटघाटलाई लिएर प्रवासी नेपाली समुदायमा उत्साह व्यक्त गरिएको छ।
नेपाली समाज भारत, प्रवासी नेपाली संघ भारत, मूलप्रवाह अखिल भारत नेपाली एकता समाजलगायत भारतस्थित नेपालीहरूका अभिभावक संघ–संगठनका प्रतिनिधिबीच हालै भएको भेटघाटलाई सकारात्मक पहलका रूपमा लिँदै यसको स्वागत गरिएको हो।
भेटघाटले बदलिँदो परिस्थितिमा भारतमा रहेका नेपालीका लागि नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ। यसबाट प्रवासी नेपालीका हकहित, अधिकार तथा समस्याका विषयमा साझा रूपमा आवाज उठाउन र न्यायका लागि महत्वपूर्ण योगदान गर्न सकिने अपेक्षा गरिएको छ।
विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै प्रवासी नेपालीबीच एकता अहिलेको प्रमुख आवश्यकता भएको बताइएको छ। समस्या, गन्तव्य र लक्ष्य समान हुँदाहुँदै पनि विभाजित हुनुको औचित्य नरहेको धारणा व्यक्त गरिएको छ।
भारतमा रहेका नेपाली संघ–संगठनहरूले विगतमा लोकतान्त्रिक गणतन्त्रका लागि व्यापक जनआन्दोलनमा भूमिका खेलेको स्मरण गर्दै संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा उनीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरिएको छ। त्यसैले वर्तमान अवस्थामा पनि संविधान र गणतन्त्रको संरक्षणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइएको छ।
‘हामी सबैको समस्या एउटै छ, गन्तव्य एउटै छ र लक्ष्य पनि एउटै छ भने विभाजन किन हुने ?’ भन्ने धारणा राख्दै एकताले मात्रै प्रवासी नेपालीका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न सकिने बताइएको छ।
व्यक्तिगत अहंकार र मतभेदभन्दा माथि उठेर जनता तथा राष्ट्रप्रति इमानदार भएर अघि बढ्न सके प्रवासी नेपालीबीचको एकता नयाँ इतिहास निर्माण गर्ने आधार बन्न सक्ने विश्वास व्यक्त गरिएको छ।
भेटघाटको पहल गर्ने सबै पक्षलाई धन्यवाद दिँदै पहलका क्रममा भएका कमीकमजोरीभन्दा सकारात्मक पक्षलाई आत्मसात् गर्नुपर्नेमा जोड दिइएको छ। बदलिँदो प्रवासी नेपालीको अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै विगतका अनुभवबाट सिकेर नयाँ ढंगले अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गरिएको छ।
प्रवासी नेपालीको हकहित र अधिकारका लागि साझा उद्देश्यसहित एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता भएको बताइएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
