स्थानीय उत्पादनबाट पोषणयुक्त खाना तयार गर्ने अभ्यास, समुदायमा व्यवहार परिवर्तनको प्रयास

टीकापुर, ४ भाद । स्थानीय स्रोत तथा उत्पादनको अधिकतम प्रयोग गरी पोषणयुक्त खाद्यान्न तयार गर्ने तथा समुदायमा स्वस्थ खानपानसम्बन्धी व्यवहार परिवर्तन ल्याउने उद्देश्यले टीकापुर नगरपालिका–६ भगवानपुरमा दुईदिने कार्यक्रम सम्पन्न भएको छ।
वल्ड भिजन इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा दिगो विकास समाज भजनीको आयोजनामा भदौ २ र ३ गते कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा स्थानीयस्तरमा उपलब्ध खाद्यान्न तथा उत्पादनको प्रयोगबाट विभिन्न प्रकारका पोषणयुक्त परिकार तयार गर्ने अभ्यास गराइएको थियो।
कार्यक्रममा सहभागी समुदायका नागरिकलाई स्थानीय स्रोतसाधनबाट उपलब्ध खाद्यान्नको सही प्रयोग, पोषणयुक्त खाना तयार गर्ने तरिका तथा दैनिक खानपानमा पौष्टिकताका पक्षलाई ध्यान दिनुपर्ने विषयमा जानकारी दिइएको थियो।
स्थानीय रूपमा उत्पादन हुने अन्न, तरकारी, फलफूल तथा अन्य खाद्य सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै बाह्य तथा कम पोषणयुक्त खाद्यान्नमा निर्भरता घटाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमले स्थानीय स्रोतमा आधारित पोषणयुक्त खाना तयार गर्ने सीप अभिवृद्धि गर्नुका साथै सिकेका कुरालाई घरपरिवार तथा समुदायको दैनिक जीवनमा व्यवहारमा उतार्न प्रेरित गरेको सहभागीहरूले बताएका छन्।
स्थानीय उत्पादनको प्रयोगमार्फत पोषणयुक्त तथा सन्तुलित आहारको प्रवर्द्धन गर्न सकिने भएकाले यस्ता कार्यक्रमले समुदायको स्वास्थ्य तथा पोषण अवस्थामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने वल्ड भिजन इन्टरनेशनल र आयोजना गर्ने दिगो विकास समाज भजनीप्रति स्थानीयस्तरबाट धन्यवादसमेत व्यक्त गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
