वर्धघाट नवलपरासीमा आध्यात्मिक चेतनाले भरिएको सत्संग सम्पन्न

वर्धघाट, ५ भदौ । वर्धघाट, नवलपरासीमा सन्त निरंकारी मण्डल नेपालको आयोजनामा आध्यात्मिक सत्संग सम्पन्न भएको छ। काठमाडौं जाने क्रममा वर्धघाट पुग्नुभएका सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले सत्संगमा उपस्थित सन्त–भक्तहरूलाई आध्यात्मिक जीवनको महत्त्व, ब्रह्मज्ञान र मानव जीवनको उद्देश्यबारे प्रेरणादायी प्रवचन दिनुभयो।

सत्संगलाई सम्बोधन गर्दै अध्यक्ष रावलले सत्गुरुको कृपाबाट सन्तहरूको दर्शन र सत्संगमा सहभागी हुने अवसर प्राप्त हुनु मानव जीवनकै ठूलो सौभाग्य भएको बताउनुभयो। उहाँले ८४ लाख योनिको जन्म–मरणको चक्र पार गर्दै मानव जीवन प्राप्त भएको उल्लेख गर्दै यस अमूल्य जीवनलाई केवल खान, पिउन, सुत्न र भौतिक सुखसुविधामै सीमित राख्न नहुनेमा जोड दिनुभयो।
“मानव जीवन अत्यन्त दुर्लभ छ। यो जीवनको वास्तविक उद्देश्य परमात्माको पहिचान गर्नु र आफ्नो आत्मिक कल्याणको मार्गमा अघि बढ्नु हो,” उहाँले बताउनुभयो।

उहाँले वर्तमान समयलाई आध्यात्मिक जागरणका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै सत्गुरुको अवतरण, मानव जीवनको प्राप्ति, सत्संगमा जोडिने अवसर र ब्रह्मज्ञान प्राप्त हुनु परमात्माको विशेष कृपा भएको बताउनुभयो।
समय कहिल्यै कसैलाई पर्खेर नबस्ने उल्लेख गर्दै उहाँले मानव जीवन पनि समयसँगै निरन्तर समाप्त हुँदै जाने भएकाले जीवन रहँदै यसको वास्तविक उद्देश्य बुझ्नुपर्नेमा सचेत गराउनुभयो। “एकपटक प्राप्त भएको मानव जीवन फेरि सहजै प्राप्त हुँदैन। त्यसैले यही जीवनमा परमात्माको ज्ञान प्राप्त गरी जीवनलाई सार्थक बनाउनुपर्छ,” उहाँले भन्नुभयो।

अध्यक्ष रावलले भक्त मीराबाईको प्रसंग उल्लेख गर्दै भौतिक सुख–सुविधा र राजपाठ हुँदाहुँदै पनि उनले परमात्माको ‘रामरतन धन’लाई सर्वोच्च महत्त्व दिएको बताउनुभयो। उहाँले मानिससँग संसारका अनेकौं सम्पत्ति भए पनि आध्यात्मिक धन अर्थात् परमात्माको ज्ञानबिना जीवन पूर्ण हुन नसक्ने स्पष्ट पार्नुभयो।
उहाँका अनुसार संसारका धन–सम्पत्ति, घर–द्वार, नातागोता तथा अन्य भौतिक उपलब्धि सबै अस्थायी छन्। स्थायी सत्य केवल निराकार परमात्मा हुनुहुन्छ। “हामी निराकारबाट आएका हौँ र अन्ततः निराकारमै विलीन हुनुपर्नेछ। तर गन्तव्य थाहा पाएर मात्र पुगिँदैन, त्यहाँ पुग्ने बाटो पनि थाहा हुनुपर्छ। त्यसैले निराकार परमात्माको पहिचान आवश्यक छ,” उहाँले बताउनुभयो।

परमात्मा जल, थल, आकाश तथा कण–कणमा व्याप्त रहेको उल्लेख गर्दै उहाँले सर्वव्यापी परमात्माको साक्षात्कार गराउने मार्गदर्शक सत्गुरुप्रति कृतज्ञ हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। संसारमा परमात्माको चर्चा धेरै भए पनि उहाँ कहाँ हुनुहुन्छ र कसरी प्राप्त गर्न सकिन्छ भन्ने वास्तविक बोध सत्गुरुको कृपाबाट मात्र सम्भव हुने उहाँको भनाइ थियो।
उहाँले सत्गुरुको कृपाबाट आफू को हुँ र परमात्मासँग आफ्नो सम्बन्ध के हो भन्ने मूल पहिचान प्राप्त हुने बताउँदै परमात्माको वास्तविक ज्ञान प्राप्त भएपछि मात्र भक्ति सार्थक हुने र आत्मिक मुक्ति सम्भव हुने धारणा राख्नुभयो।

सत्संग कार्यक्रममा मञ्जील पौडेल, जया बुढाथोकी, मोतीलाल, मुन्ना जी, विनोद पौडेल, शोभा गुप्ता, महिमा पौडेल, विष्णुबहादुर, गायक तेज बोहरा, रेनु, अनिता, शकुन्तला, प्रदीप, जुनीकुमारी लगायतले भजन, प्रवचन तथा आध्यात्मिक विचार प्रस्तुत गर्दै आफ्नो भाव व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सहसचिव नरबहादुर बि.क. लगायत सन्त–भक्तहरूको उल्लेख्य सहभागिता रहेको थियो। सत्संगले उपस्थित भक्तजनमा आत्मचिन्तन, परमात्माप्रतिको विश्वास तथा मानव जीवनलाई आध्यात्मिक मार्गमा समर्पित गर्ने प्रेरणा प्रदान गरेको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.