रसुवाको बाढीपछि टीकापुरका ८–१० जना सम्पर्कविहीन, परिवारमा बढ्यो चिन्ता

टीकापुर, १० भाद्र । रसुवामा आएको भीषण बाढीपछि कैलालीको टीकापुरका केही व्यक्ति सम्पर्कविहीन भएका छन्। रोजगारीका क्रममा रसुवा पुगेका उनीहरूसँग बाढीपछि सम्पर्क हुन नसकेको आफन्तले बताएका छन्।
रसुवास्थित धुन्चे हाइड्रोपावरमा कार्यरत टीकापुर नगरपालिका–१ समितिपुरका मात्रै ८ देखि १० जना सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरू सबैसँग सम्पर्कको प्रयास भइरहेको भए पनि मोबाइल फोन बन्द रहेकाले अवस्था थाहा हुन नसकेको आफन्तहरूको भनाइ छ।
धुन्चे हाइड्रोपावरमा कार्यरत मानबहादुर चौधरीका भाइ अखिल चौधरीले दाइसँग सम्पर्क हुन नसकेको बताए। उनका अनुसार हाइड्रोपावरमा कार्यरत अन्य व्यक्तिसँग पनि सम्पर्क हुन सकेको छैन।
‘सबैजनाको मोबाइल अफ छ। कसैसँग पनि सम्पर्क हुन सकेको छैन,’ उनले भने।
सम्पर्कविहीन मानबहादुर चौधरी असार ३० गते रोजगारीका लागि रसुवा गएको बताइएको छ। बाढीपछि एकाएक सम्पर्क विच्छेद भएपछि परिवारका सदस्यहरू उनीहरूको अवस्थाबारे चिन्तित भएका छन्।
टीकापुर नगरपालिकाका अन्य वडाबाट समेत रोजगारीका लागि रसुवाका विभिन्न जलविद्युत् आयोजनामा ठूलो संख्यामा मानिस कार्यरत रहेको बुझिएको छ। तीमध्ये केही व्यक्ति भने बाढीपछि परिवारको सम्पर्कमा आइसकेका छन्।
तर रसुवाका विभिन्न जलविद्युत् आयोजना तथा आसपासका क्षेत्रमा कार्यरत सबैको अवस्था अझै स्पष्ट हुन नसकेकाले सम्पर्कविहीन व्यक्तिको संख्या बढ्न सक्ने आशंका गरिएको छ। परिवारजनले सम्बन्धित निकायसँग उनीहरूको खोजी तथा उद्धारका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
