रसुवाको बाढीमा मृत्युको मुखबाट उम्किए शिवु गिरी, ८ घण्टा जंगलमा संघर्ष

दाङ । रसुवामा आएको विनाशकारी बाढीबाट ज्यान जोगाउन दाङका शिवु गिरीले गरेको संघर्ष कुनै सिनेमाको कथाभन्दा कम छैन। रसुवास्थित ड्याम साइट हाइड्रोपावरमा प्राविधिकका रूपमा कार्यरत गिरीले बाढीका क्रममा निकै कठिन परिस्थितिबीच आफ्नो ज्यान जोगाउन सफल भएका हुन्।
बाढी आउने खतरा रहेको सूचना पाउनु र बाढी उर्लिनु एकैपटक भएपछि उनी सवार गाडी करिब तीन किलोमिटर अगाडि पुगेको थियो। त्यसक्रममा चालकले खतरा महसुस गरेपछि गुडिरहेको गाडीबाटै हाम फाले। गिरीले पनि पलभर ढिला नगरी गाडीबाट बाहिर हाम फालेर आफ्नो ज्यान जोगाए।
आफ्नै आँखाअगाडि केही मानिसलाई उर्लंदो बाढीले बगाएको भयावह दृश्य देखेका गिरी त्यसपछि मृत्युको मुखबाट भाग्दै घनघोर जंगलतर्फ लागे। ज्यान जोगाउने क्रममा उनी करिब आठ घण्टासम्म लगातार जंगलमा हिँडे। तर, कतै बस्ती वा मानिसको नामोनिसान भेटिएन।
त्यो अन्जान र सुनसान जंगलमा एउटा बेसहारा कुकुर उनको एक्लो सहयात्री बन्यो। रात परिसकेपछि चारैतिर अन्धकार छायो। भोक, प्यास र शरीर कठ्याङ्ग्रिने चिसोबीच गिरी जंगलकै एउटा ओडारमा कुकुरसँगै रात बिताउन बाध्य भए। रातभर मृत्युको भय र चिसोसँग संघर्ष गर्दै उनले बिहान हुने प्रतीक्षा गरे।
भोलिपल्ट बिहान उज्यालो भएपछि आकाशमा उद्धार टोलीको हेलिकोप्टर देखियो। हेलिकोप्टर देखेपछि आफू उद्धार हुने आशामा गिरीले केही राहत महसुस गरे। तर, दुर्भाग्यवश हेलिकोप्टरमा रहेका उद्धारकर्मीले उनलाई देख्न सकेनन्।
एकपछि अर्को गर्दै तीनवटासम्म हेलिकोप्टर उनको टाउकोमाथिबाट उडे पनि घनघोर जंगलका कारण उनीहरूको ध्यान गिरीतर्फ जान सकेन। हेलिकोप्टर फर्किएपछि पनि उनले हिम्मत हारेनन्। आफू जंगलतर्फ उकालो लागेर आएको बाटोतिर फर्किएर सहयोगको खोजी जारी राखे।
अन्ततः केही मानिसको साथ र सहयोग पाएपछि उनको अवस्थाबारे उद्धार टोलीले जानकारी पायो। त्यसपछि हेलिकोप्टरमार्फत गिरीको सकुशल उद्धार गरिएको हो।
मृत्युको मुखबाट उम्किँदै घनघोर जंगलमा आठ घण्टा संघर्ष गरेका गिरीको यो उद्धारले उनलाई नयाँ जीवन दिएको छ। उनको संघर्ष र सकुशल उद्धारको घटनाले रसुवाको बाढी कति भयावह थियो भन्ने पनि देखाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
