मालिकको पर्खाइमा भैंसी, तर अझै भेटिएनन् उनका मालिक

रसुवा । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले जनधनमा ठूलो क्षति पुर्याउनुका साथै मानिस र पशुपक्षीको जीवनसमेत अस्तव्यस्त बनाएको छ। बाढीपछि उद्धारको पर्खाइमा चुपचाप टोलाइरहेको एउटा भैंसीको दृश्य अहिले सामाजिक सञ्जालमा भावुक बनाउने बनेको छ।
बाढी आएको लामो समय बितिसक्दा पनि भैंसीका मालिकको भने अझै अत्तोपत्तो छैन। मालिक आउने आशामा भैंसी एकै ठाउँमा टोलाएर बसेको देखिन्छ।
मानिस भए आफ्नो अवस्था बताउँदै गुहार माग्न सक्थ्यो होला। तर, बोल्न नसक्ने यो निरीह जीव भने आफ्ना मालिकको बाटो हेर्दै बसिरहेको छ। उसको आँखाले मानौँ ‘मेरो मालिक कहाँ हुनुहुन्छ?’ भन्ने प्रश्न गरिरहेको जस्तो देखिन्छ।
भोटेकोशीको बाढीले घर, सडक र पुललगायतका भौतिक संरचना मात्रै होइन, कैयौँ परिवारका सम्बन्ध, आशा र सपनासमेत बगाएको छ। त्यसको मारमा मानिससँगै निर्दोष पशुहरू पनि परेका छन्।
मालिकको खोजीमा टोलाइरहेको भैंसीको यो दृश्यले प्राकृतिक विपत्तिले निम्त्याएको पीडालाई थप उजागर गरेको छ। स्थानीयहरू भने बाढीपछि सम्पर्कविहीन भएका सबै मानिस र पशुचौपायाको सकुशल उद्धारको प्रतीक्षामा छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
