प्रवास

नेपाली तथा गोर्खाली समुदायका ११ विशिष्ट व्यक्तित्व ‘हाम्रो गौरव अवार्ड २०२६’ बाट सम्मानित हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नयाँ दिल्ली । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै नेपाली तथा गोर्खाली समुदायको गौरव बढाएका ११ जना व्यक्तित्वलाई ‘हाम्रो गौरव अवार्ड २०२६’ बाट सम्मान गरिने भएको छ।

दिल्ली सरकारको सहयोग तथा हाम्रो स्वाभिमान ट्रस्ट (पतञ्जलि योगपीठ, हरिद्वार) को आयोजनामा आगामी १३ सेप्टेम्बर २०२६ मा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियम, आईटीओमा विशेष समारोह आयोजना हुने भएको हो।

समारोहमा विभिन्न क्षेत्रका प्रेरणादायी व्यक्तित्वहरूलाई उनीहरूले सम्बन्धित क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।

यस वर्ष आजीवन उपलब्धि सम्मानबाट गोपालसिंह नेपाली सम्मानित हुनेछन्। त्यस्तै, जैव विविधता क्षेत्रमा योगदान पुर्‍याएका पद्मश्री गम्भीरसिंह योनजोन, विश्वविजेता निशानेबाज पद्मश्री जीतु राई, भारतीय राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सुनील छेत्री र प्रशासनिक सेवातर्फ देवराज उपाध्याय सम्मानित हुने सूचीमा छन्।

त्यसैगरी साहित्य तथा शिक्षातर्फ डा. गोकुल सिन्हा, संगीत क्षेत्रमा शान्ति ठटाल, व्यवसाय तथा उद्यमितातर्फ कृष्ण कडारिया, कला तथा संस्कृतितर्फ विनोद खनाल, महिला सशक्तीकरणतर्फ एसीपी जमुना थापा तथा कृषि एवं जैविक खेतीतर्फ भावेश निरौलालाई ‘हाम्रो गौरव अवार्ड २०२६’ प्रदान गरिने भएको छ।

आयोजकका अनुसार विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका प्रतिभाहरूको सम्मानमार्फत नेपाली तथा गोर्खाली समुदायका प्रतिभा र उपलब्धिलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

१३ सेप्टेम्बरमा हुने समारोहमा नेपाली तथा गोर्खाली समुदायका गौरवशाली प्रतिभाहरूको सम्मानमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आयोजकले सबैमा आग्रह गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।