सहयोग तथा उदार

दुःखमा मलम लगाउँदै टीकापुर–६ का नौ टोल, मानिकापुरसहित सात परिवारलाई खाद्यान्न सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ,२४ असोज । टीकापुर नगरपालिका–६ का नौवटा टोल विकास संस्थाले रसुवामा बाढीका कारण बेपत्ता भएका व्यक्तिका परिवारसहित सात पीडित परिवारलाई खाद्यान्न राहत वितरण गरेका छन्।

लोक कल्याणकारी विज्ञापन

टोल विकास संस्थाहरूले स्थानीय बासिन्दाबाट रकम संकलन गरी खाद्यान्न खरिद गरेर टीकापुर नगरपालिका–५ को मनिकापुरका पाँच, ज्योतिनगरका एक र भूपू कमैयाका एक गरी सात परिवारलाई राहत उपलब्ध गराएका हुन्।

लोक कल्याणकारी विज्ञापन

प्रत्येक परिवारलाई एक क्विन्टल चामल, पाँच लिटर खाने तेल, तीन किलो दाल र पाँच किलो नुन वितरण गरिएको थियो। टीकापुर नगरपालिका–६ मा गठित टोल विकास संस्था वडा सञ्जालकी अध्यक्ष आशा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राहत वितरण गरिएको हो। कार्यक्रमको सहजीकरण सहकर्मी समाजका वरिष्ठ सामुदायिक प्रशिक्षक अनुप चौधरी र सामुदायिक प्रशिक्षक करुणा कोइरालाले गरेका थिए।

बिज्ञापन

राहत वितरणका क्रममा टीकापुर नगरपालिका–५ का वडाध्यक्ष बलबीर थारूले सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै बेपत्ता व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले पीडित परिवारलाई दुःख सहन सक्ने धैर्य, साहस र शक्ति मिलोस् भन्ने कामना गरे।

‘हामीले धेरै पीडा भोगेका छौँ। तर अब हिम्मतका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘सुख–दुःख जीवनमा आइरहन्छन्। यस्तो कठिन परिस्थितिमा एकअर्कालाई साथ दिँदै, दुःख–सुख बाँड्दै र एकजुट भएर अघि बढ्न सबैलाई आग्रह गर्दछु।’

उनले अम्बासा, बेलुबोझी, नारायणपुर र भगवानपुरका बासिन्दाले आफ्नै गाउँठाउँ र आफन्त सम्झेर सहयोग पठाएको उल्लेख गर्दै प्रत्यक्ष उपस्थित हुन नसके पनि राहतमा योगदान पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गरे।

राहत संकलनमा सहभागी रामप्रसाद चौधरीले रसुवाका बाढीपीडित परिवारप्रति समवेदना व्यक्त गर्दै गाउँ–गाउँ र घर–घरबाट सहयोग जुटाएर राहत ल्याइएको बताए।

‘बेपत्ता व्यक्तिहरूको अवस्था अझै पत्ता लाग्न नसकेको अवस्थामा पीडित परिवारलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले चन्दा संकलन गरेका हौँ,’ उनले भने, ‘प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुका साथै स्थानीय स्तरबाटै पीडित परिवारलाई प्रत्यक्ष सहयोग गर्नुपर्छ भन्ने सोचले यो पहल गरेका हौँ।’

उनका अनुसार उक्त राहत व्यक्तिगत सहयोग र टोल विकास संस्थाको पहलमा स्थानीय बासिन्दाबाट संकलित रकमबाट जुटाइएको हो।

राहत उपलब्ध गराउने संस्थामा शिव कृपा, मिलन, उज्यालो, महादेव, मेलमिलाप, बजरङ्गबली, गुलरैयापुर, कोपिला र सुनौलो टोल विकास संस्था छन्।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन