मुम्बईमा संयुक्त नेपाली महासङ्घद्वारा सार्वजनिक नवरात्र उत्सव

म्बई, ३० असोज। प्रवासी नेपालीको संस्था संयुक्त नेपाली महासङ्घ रजिस्टर्ड, मुम्बईले प्रत्येक वर्ष मनाउँदै आएको सार्वजनिक नवरात्र उत्सवअन्तर्गत यस वर्ष पनि घट स्थापना तथा दुर्गा भवानीको मूर्ति स्थापना गरेको छ।

महासङ्घले ११ अक्टोबर २०२६ मा मुम्बईको तुँगा गाउँ, पवई–अन्धेरीस्थित महासङ्घको कार्यालय परिसरमा घट तथा दुर्गा भवानीको मूर्ति स्थापना गरी नवरात्र उत्सव मनाएको हो।

महासङ्घका अध्यक्ष पूर्ण कुँवरले संस्थाले प्रत्येक वर्ष सार्वजनिक रूपमा नवरात्र उत्सव मनाउँदै आएको बताउनुभयो। प्रवासमा रहेर पनि नेपाली धर्म, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्दै समुदायबीच आपसी सद्भाव र एकता कायम राख्ने उद्देश्यले उत्सव आयोजना गरिँदै आएको उहाँले उल्लेख गर्नुभयो।

अध्यक्ष कुँवरले यस अवसरमा सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई विजया दशमी र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामनासमेत व्यक्त गर्नुभएको छ।
यस वर्ष आफ्नो घरमा दसैँ उत्सव नमनाइने भए पनि महासङ्घको अध्यक्षका रूपमा संस्थागत जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले कार्यक्रमका स्मरणीय तस्बिर तथा छायाचित्र फेसबुकमार्फत सार्वजनिक गरिएको उहाँले बताउनुभयो।
प्रवासमा आयोजना गरिने यस्ता सार्वजनिक सांस्कृतिक कार्यक्रमले नेपाली समुदायलाई एकै ठाउँमा जोड्नुका साथै मौलिक संस्कृति, धार्मिक परम्परा र सामाजिक एकतालाई निरन्तरता दिन सहयोग पुर्याउने विश्वास गरिएको छ।


