‘मलाई हराउन सक्नुहोला, सत्यलाई हराउन सक्नुहुन्न’ : प्रकाश खड्का

टीकापुर, ३१ असोज । टीकापुर खानेपानी उपभोक्ता समितिको निर्वाचनलाई लिएर आफूविरुद्ध गुटबन्दी र राजनीतिक चलखेल भएको स्वतन्त्र मेयर उम्मेदवार प्रकाश खड्काले आरोप लगाएका छन्। उनले पार्टीभित्र आफूलाई कमजोर बनाउने प्रयास भएको र संगठित सदस्यता नवीकरणसमेत नगरिएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले आफूले खानेपानीका हजारौँ उपभोक्ताको पक्षमा आवाज उठाएकै कारण निशानामा परेको बताएका हुन्। आफूलाई पार्टी छोड्न बाध्य पारिएको उनको दाबी छ।

खड्काका अनुसार टीकापुर खानेपानीको निर्वाचनमा आफूलाई कमजोर बनाउने उद्देश्यले विभिन्न तहमा चलखेल गरिएको थियो। आफ्नो टिमको सचिवका रूपमा ‘प्रकाश खड्का’ उल्लेख भएको कार्ड सार्वजनिक गरेपछि त्यसैलाई आधार बनाएर आफूलाई पराजित गर्ने प्रयास भएको उनले बताएका छन्। निर्वाचनका क्रममा वितरण गरिएका चिटका अवशेष र अन्य प्रमाण आफूसँग सुरक्षित रहेको उनको भनाइ छ।

उनले आफूविरुद्धको गतिविधिको योजना काठमाडौंमा बनेको र स्थानीय तथा जिल्लास्तरका व्यक्तिहरूले त्यसलाई कार्यान्वयन गरेको आरोपसमेत लगाएका छन्। एक वर्षदेखि संगठित सदस्यता नवीकरण नगरिएको उल्लेख गर्दै उनले पार्टीभित्र गुटगत गतिविधि बढेको दाबी गरेका छन्।
खड्काले आफू कुनै गुटको नभई खानेपानीका हजारौँ उपभोक्ताको पक्षमा उभिएको बताएका छन्। पार्टीको संगठनात्मक पद्धति, आन्तरिक न्याय र राजनीतिक संस्कारमाथि प्रश्न उठाउँदै उनले आफूलाई पराजित गर्न सकिए पनि सत्यलाई पराजित गर्न नसकिने बताएका छन्।


