१८ वर्षीय विद्यार्थीसँग सम्बन्ध राख्ने पूर्वशिक्षिकालाई ६ महिना जेल सजाय

अमेरिका, १६ कात्तिक । अमेरिकाको मिनेसोटास्थित टार्टन हाई स्कुलकी पूर्वशिक्षिका २७ वर्षीया एन मार्गरेट बेकनलाई आफ्नै १८ वर्षीय विद्यार्थीसँग यौन सम्बन्ध राखेको अभियोगमा अदालतले ६ महिना जेल सजाय सुनाएको छ ।

अदालतले बेकनलाई १८० दिनको कैदसँगै दुई वर्ष निगरानीमा (प्रोबेसन) राख्ने आदेश दिएको हो । यद्यपि, उनले इलेक्ट्रोनिक निगरानीमा घरमै बसेर जेल सजाय पूरा गर्न पाउने सुविधा पाएकी छन् ।

प्रारम्भमा बेकनले विद्यार्थीले विद्यालय छाडेपछि मात्रै उनीहरूबीच सम्बन्ध सुरु भएको दाबी गरेकी थिइन् । तर, होटलमा सँगै रहेका तस्बिर तथा अन्य प्रमाण सार्वजनिक भएपछि उनले विद्यार्थी विद्यालयमै अध्ययनरत रहँदादेखि नै भेटघाट हुने गरेको स्वीकार गरेकी हुन् ।

अनुसन्धानका क्रममा उनले विद्यार्थीसँग भेट्न चारपटकसम्म होटलका कोठा बुक गरेको खुलेको थियो ।
मिनेसोटाको कानुनअनुसार विद्यार्थी १८ वर्ष पुगेर बालिग भए पनि शिक्षकले आफ्नो पदीय हैसियत र पेसागत मर्यादाको दुरुपयोग गर्दै विद्यार्थीसँग यौन सम्बन्ध राख्नु आपराधिक कसुर मानिन्छ । यही कसुरमा अदालतले उनलाई जेल सजाय सुनाएको हो ।


