टीकापुर

अस्नेरीमा बस्ती सुरक्षा गोष्ठी, चोरी नियन्त्रणमा सामूहिक पहलको आवश्यकता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १९ कार्तिक । कैलालीको टीकापुर नगरपालिका–४ स्थित अस्रैरीमा चाडपर्वलाई लक्षित गरी शुभकामना आदानप्रदान तथा बस्ती सुरक्षा गोष्ठी गरिएको छ । सामुदायिक सेवा केन्द्रको आयोजनामा बुधबार भएको गोष्ठीमा चोरीका घटना न्यूनीकरण, लागुऔषध दुर्व्यसन नियन्त्रण र समुदायको सुरक्षा व्यवस्थामा स्थानीयको भूमिकाबारे छलफल गरिएको थियो ।

लोक कल्याणकारी विज्ञापन

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष लालवीर चौधरीले गाउँघरमा चोरीका घटना बढ्दै गएकाले शान्ति सुरक्षा कायम गर्न प्रहरीको मात्र भर पर्न नहुने बताए । बस्तीलाई सुरक्षित बनाउन स्थानीय अग्रज, नागरिक र सामुदायिक सेवा केन्द्रसमेत सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।

लोक कल्याणकारी विज्ञापन

विगतका वर्षमा सामुदायिक सेवा केन्द्रसँग सहकार्य गरेर विभिन्न गतिविधि सञ्चालन गरिएको उल्लेख गर्दै चौधरीले यस वर्ष पनि लागुऔषध दुर्व्यसनसम्बन्धी कार्यक्रमका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अर्जुन सिंह साउदले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको मात्र नभई समुदायको पनि भएको बताए । चाडपर्वका बेला गाउँघरमा झैझगडा वा शंकास्पद गतिविधि भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरे ।

घरबाहिर जाँदा बहुमूल्य सामान सुरक्षित राख्न, छिमेकीलाई जानकारी गराउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र पटाका नपड्काउन उनले सुझाव दिए । पछिल्लो समय सामाजिक सञ्जालमा फैलिने भ्रामक सामग्रीले समाजमा समस्या सिर्जना गर्नुका साथै प्रहरी अनुसन्धानमा समेत कठिनाइ हुने गरेको उनले बताए । चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा योजना बनाएर काम गरिरहेको उनको भनाइ थियो ।

कालिका आधारभूत विद्यालयका शिक्षक पदमबहादुर धामीले लागुऔषध दुर्व्यसनविरुद्धका कार्यक्रममा किशोरकिशोरी र युवालाई समेत सहभागी गराउनुपर्ने सुझाव दिए । टीकापुर नगरपालिका–६ की निशा कडायतले दुर्व्यसन न्यूनीकरणका लागि अभिभावक सचेत हुनुपर्ने बताइन् ।

समाजसेवी नरबहादुर थापाले बस्तीस्तरमा सुरक्षा गोष्ठी र निगरानी बढाउनुपर्ने धारणा राखे । कृष्ण शाहले सामुदायिक सेवा केन्द्रलाई दिगो बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । सल्लाहकार समिति सदस्य रत्नप्रसाद पोखरेलले गलत प्रवृत्तिमा लागेका व्यक्तिलाई निरुत्साहित गर्न समाज एकजुट हुनुपर्ने बताए ।

त्यस्तै, मेलमिलापकर्ता जोखनलाल थारुले सामान्य विवादका घटनालाई मेलमिलाप केन्द्रमार्फत समाधान गर्न आग्रह गर्दै चोरी नियन्त्रणका लागि बस्तीको निगरानी प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केसरसिंह ठकुरीले स्वागत गरेका थिए । सचिव तिलक श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्थानीय तथा सरोकारवालाको सहभागिता थियो ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन