रेलबाट खसेर दुई नेपाली युवाको मृ,त्यु

वापीबाट घर फर्किँदै गरेका युवाको शव उत्तर प्रदेशमा फेला

वापी (गुजरात), ४ मंसिर । भारतको गुजरातस्थित वापीबाट नेपाल फर्किँदै गरेका दुई नेपाली युवाको रेल दुर्घटनामा परी मृत्यु भएको छ । उनीहरूको शव भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा दिल्ली–हावडा रेलमार्गको किनारमा फेला परेको हो ।
बुधबार, नोभेम्बर १९ बिहान औरैया जिल्लाको अछल्दा थाना क्षेत्रअन्तर्गत धाराका पुरवा गाउँनजिक रेलमार्गको दुई फरक स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–पदमपोखरी निवासी २९ वर्षीय विवेक विश्वकर्मा र ३१ वर्षीय लक्ष्मण रहेका छन् ।
प्रहरीका अनुसार बिहान करिब ४ बजे प्रयागराजबाट टुन्डलातर्फ जाँदै गरेको लालगढ सुपरफास्ट एक्सप्रेसका लोको पाइलटले रेलमार्ग किनारमा दुई शव देखेपछि स्टेसन मास्टरलाई खबर गरेका थिए । त्यसपछि रेलवे प्रशासनले प्रहरीलाई सूचना दिएको थियो ।
घटनास्थल पुगेको प्रहरीले अनुसन्धानका क्रममा मृतकका मोबाइल फोन फुटेको अवस्थामा फेला पारेको थियो । मोबाइल सञ्चालन गर्न नसकिएपछि सिमकार्ड अर्को मोबाइलमा राखेर आएको फोनका आधारमा उनीहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ । पछि नेपालमा रहेका परिवारसँग सम्पर्क गरी मृतकको पहिचान पुष्टि गरिएको थियो ।
परिवारबाट प्राप्त जानकारीअनुसार दुवै युवा गुजरातको वापी क्षेत्रमा मेलामा पसल सञ्चालन गर्दै आएका थिए । उनीहरू त्यहीँबाट घर फर्किने क्रममा दुर्घटनामा परेको खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा रेलबाट खसेर मृत्यु भएको आशंका गरे पनि उनीहरू कुन रेलमा सवार थिए र कसरी खसे भन्नेबारे खुल्न सकेको छैन ।
मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि मृतकका आफन्त नेपालबाट औरैया पुगेका छन् । आफन्तको उपस्थितिमा पोस्टमार्टम लगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।
रोजगारी तथा व्यवसायका सिलसिलामा भारतमा रहेका दुई नेपाली युवाको घर फर्किने क्रममा भएको यस दुःखद् घटनाले उनीहरूका परिवार तथा आफन्तजनमा शोक छाएको छ ।

