प्रवास

मुम्बईमा चार–पाँच दिनदेखि सम्पर्कविहीन नेपालीको सकुशल उद्धार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई, १० मंसिर । भारतको मुम्बईस्थित माहिम क्षेत्रमा चार–पाँच दिनदेखि सम्पर्कविहीन रहेका नेपाली नागरिक हिक्मत ऐरको सकुशल उद्धार गरिएको छ । संयुक्त नेपाली महासंघ, रजि. मुम्बईका पदाधिकारी तथा सदस्यहरूको पहल र ग्रेस फाउन्डेसनको सहयोगमा ऐरको खोजी तथा उद्धार गरिएको हो ।

लोक कल्याणकारी विज्ञापन

ऐरको मोबाइल फोन र झोला हराएपछि उनी परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएका थिए । सम्पर्क गर्ने कुनै माध्यम नभएको अवस्थामा धारावी प्रहरी प्रशासनले उनलाई फेला पारी सुरक्षित रूपमा वृद्धाश्रममा राखेको थियो ।

ऐर सम्पर्कविहीन भएको जानकारी पाएपछि संयुक्त नेपाली महासंघ, मुम्बईले खोजी तथा उद्धारका लागि पहल थालेको थियो । महासंघका पदाधिकारी, सदस्य तथा स्थानीय समाजसेवीको समन्वयमा उनको अवस्थाबारे जानकारी संकलन गर्दै उद्धार प्रक्रिया अघि बढाइएको थियो ।

लोक कल्याणकारी विज्ञापन
AD

उद्धार अभियानमा महासंघका अध्यक्ष पूर्णबहादुर कुँवर, महामन्त्री भीमराज गैरे, संरक्षक सदस्य शिवराज उपाध्याय तथा आजीवन सदस्य एवं मुम्बई प्रहरीमा कार्यरत इन्द्रबहादुर सिंह कुँवरको महत्वपूर्ण भूमिका रहेको महासंघले जनाएको छ ।

उद्धार प्रक्रियाका क्रममा महासंघका संरक्षक सदस्य शिवराज उपाध्याय धारावी प्रहरी थानामा पुगेर आवश्यक प्रशासनिक कार्यमा सहयोग गरेका थिए । त्यसपछि महासंघका अध्यक्ष पूर्णबहादुर कुँवरले हिक्मतका छोरा नरेश ऐर र उनका भान्जालाई साथमा लिएर चेम्बुरस्थित ग्रेस फाउन्डेसन पुगेका थिए ।

ग्रेस फाउन्डेसनसँगको समन्वयमा आवश्यक संस्थागत तथा वैधानिक प्रक्रिया पूरा गरेपछि हिक्मत ऐरलाई सुरक्षित रूपमा उद्धार गरी परिवारको जिम्मा लगाइएको महासंघले जनाएको छ ।

बुबाको खोजी तथा उद्धारका लागि आवश्यक प्रशासनिक प्रक्रिया पूरा गर्न छोरा नरेश ऐरले सक्रिय भूमिका निर्वाह गरेका थिए । लामो समयसम्म सम्पर्कविहीन रहेका बुबा सकुशल भेटिएपछि परिवारले राहत महसुस गरेको छ ।

यस अभियानमा धारावी प्रहरी प्रशासन, चेम्बुरस्थित ग्रेस फाउन्डेसन, संयुक्त नेपाली महासंघका पदाधिकारी तथा सदस्य, समाजसेवी र अन्य सहयोगीहरूको समन्वय र सहकार्य रहेको थियो ।

महासंघले हिक्मत ऐरको खोजी तथा उद्धारमा सहयोग गर्ने भारतीय प्रहरी प्रशासन, ग्रेस फाउन्डेसन र सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ । विदेशमा समस्यामा परेका नेपालीको खोजी, उद्धार र सहयोगका लागि नेपाली संघसंस्थाबीचको सहकार्य महत्वपूर्ण हुने घटनाले देखाएको छ ।

संयुक्त नेपाली महासंघ, रजि. मुम्बईले यस मानवीय कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।

बिज्ञापन