तीन वर्षीया छोरीलाई छाडेर श्रीमती आफ्नै देवरसँग सम्पर्कविहीन

बेंगलुरु, १३ मंसिर । भारतको बेंगलुरुमा रोजगारीका लागि बस्दै आएका बझाङका एक युवकले आफ्नी श्रीमती र भाइ सम्पर्कविहीन भएपछि खोजी गरिदिन आग्रह गरेका छन् । बझाङको सुर्मा गाउँपालिका–५ घर भएका रोशन जेठाराले आफ्नी २० वर्षीया श्रीमती कोपिला जेठारा र भाइ अमृत जेठारा गत अक्टोबर २२ देखि सम्पर्कविहीन भएको बताएका छन् ।

रोशनका अनुसार पाँच वर्षअघि प्रेम विवाह गरेकी कोपिला तीन वर्षीया छोरीलाई कोठामै छाडेर आफ्नै भाइ अमृतसँग निस्किएकी हुन् । उनीहरूले चार वर्षदेखि बेंगलुरुमा एउटै मालिकको गार्डेनमा काम गर्दै आएका थिए ।
रोशनका भाइ अमृत पाँच वर्षदेखि बेंगलुरुको हम्दानल्लीस्थित एक मालिकको गार्डेनमा काम गर्दै आएका थिए । चार वर्षअघि रोजगारीकै सिलसिलामा रोशन र कोपिला पनि त्यही गार्डेनमा पुगेका थिए । मालिकले रोशन र कोपिलालाई एउटा कोठा तथा अमृतलाई अर्को कोठामा बस्ने व्यवस्था मिलाइदिएका थिए । अमृत खाना खान भने प्रायः दाइभाउजूकै कोठामा जाने गरेको रोशनले बताएका छन् ।
सँगै काम गर्ने र बस्ने क्रममा भाइ र श्रीमतीबीच प्रेम सम्बन्ध रहेको आफूलाई कुनै शङ्का नलागेको रोशनको भनाइ छ । उनीहरू सम्पर्कविहीन भएपछि मात्रै अन्य व्यक्तिले पहिले पनि उनीहरूको सम्बन्धबारे शङ्का व्यक्त गर्ने गरेको आफूलाई सुनाएको उनले बताए ।
रोशनका अनुसार अक्टोबर २२ मा कोपिला र अमृत तीन वर्षीया छोरीलाई कोठामै छाडेर निस्किएका थिए । त्यसको दुई दिनपछि उनीहरू मुम्बई पुगेको जानकारी पाएपछि रोशन खोजी गर्दै त्यहाँ पुगेका थिए । तर, आफू मुम्बई आएको थाहा पाएपछि उनीहरू त्यहाँबाट पनि अन्यत्र गएको उनले बताएका छन् ।
रोशनले श्रीमतीले आफूले चार वर्षदेखि कमाएको ४ लाख ८० हजार रुपैयाँ, बैंक तथा घरमा रहेको करिब ३५ हजार रुपैयाँ र एउटा मोबाइल फोनसमेत लिएर गएको दाबी गरेका छन् । घटनापछि उनी श्रीमती र भाइको खोजीमा भौँतारिइरहेका छन् ।
‘मेरो श्रीमती गत महिना २२ तारिखदेखि बेंगलुरुबाट आफ्नै भाइसँग गएकी छन् । कसैले देख्नु वा भेट्नु भएको छ भने सम्पर्क गरिदिनुहोला,’ रोशनले आग्रह गरेका छन् ।
उनले कोपिला र अमृतलाई कतै देखेमा उपलब्ध गराइएको सम्पर्क नम्बरमा जानकारी दिन अनुरोध गरेका छन् । उनका अनुसार अमृतको घाँटीमा ठूलो पुतलीको ट्याटु रहेको छ ।
कोपिलाको माइती कैलालीको भजनी नगरपालिका रहेको रोशनले बताएका छन् । तीन वर्षीया बालिकालाई छाडेर आमा र काका सम्पर्कविहीन भएपछि घटनाले पारिवारिक चिन्तासमेत बढाएको छ ।

