सुदूरपश्चिम प्रदेश

डोटीका ३३ वडामा छैनन् वडासचिव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डोटी । डोटी जिल्लाका ६५ वडामध्ये ३३ वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ ।

जिल्लाका ९ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ । ६ वडा रहेको पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए ।

बिज्ञापन

उनले भने, ‘वडा सचिव नभए पनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन् ।’ 

जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकाका ४ वडामा सचिव छैनन् । ९ वडा रहेको नगरपालिकामा वडा नम्बर ५, ७, ८, ९ सचिवविहीन छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचीकारले सचिव नभएका वडामा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिइरहेको बताए ।
  
११ वडा रहेको शिखर नगरपालिकामा पनि ४ वडामा सचिव छैनन् । वडामा सचिव नहुँदा एउटै व्यक्तिले २ वडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुत्तोषम घिमिरेले बताए । बडीकेदार गाउँपालिकामा वडा संख्याका आधारमा सचिव छैनन् । ५ वडा रहेको गाउँपालिकामा ३ वडा सचिवविहीन छन् ।

वडा नम्बर १, २ र ४ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले बताए । ६ वडा रहेको जोरायल गाउँपालिकामा पनि २ वटा वडामा सचिव छैनन् । वडा नम्बर ३ र ६ मा सचिवको दरबन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज भट्टले जानकारी दिए ।

वडा सचिव नभएका वडामा अन्य कर्मचारीबाट कार्य सञ्चालन भइरहेको उनले बताए ।

बोगटान फुड्सिल गाउँपालिकाका ६ वटा वडामा सचिव छैनन् । ७ वडा रहेको गाउँपालिकामा नम्बर ३ मा मात्र वडा सचिव रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताए । वडा सचिव नभएका वडामा अन्य प्राविधिक र करारका कर्मचारीले काम गरिरहेका उनले बताए ।

७ वडा रहेको केआईसिंह गाउँपालिकामा पनि २ वडा सचिवविहीन छन् । वडा नम्बर १ र ७ मा सचिव नरहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले जानकारी दिए । पूर्वीचौकी गाउँपालिकामा पनि आवश्यकता अनुसार वडासचिव छैनन् । ७ वडा रहेको पालिकाका ३ वटा वडामा सचिवको दरबन्दी रिक्त छ ।

सचिव नहुँदा वडा नम्बर ३ र ७ मा १ जनाले हेरिरहेका छन् भने २ र ६ मा वडा सचिव नरहेको पालिकाले जनाएको छ । सचिव नभएका वडामा प्राविधिक कर्मचारीले काम चलाइरहेका छन् ।
 
७ वडा रहेको आदर्श गाउँपालिकामा पनि ३ वटा वडा सचिवविहीन छन् । वडा नम्बर ३, ५ र ७ मा वडा सचिव नरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझाले बताए । पालिकामा कर्मचारी अभाव भए पनि पालिकामा रिक्त दरबन्दीअनुसारका कर्मचारी लोकसेवामा माग नगर्नुले स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हीरालाल चौधरीले बताए ।

प्रदेशका ८८ स्थानीय तहमध्ये ३९–४० स्थानीय तहले मात्रै केही आवश्यक कर्मचारी माग गरेको उपसचिव चौधरीको भनाइ छ । कर्मचारी अभाव भएरनभएको आफूहरूलाई थाहा नहुने जनाउँदै उनी भन्छन्, ‘हामीले स्थानीय तहको मागअनुसार मात्र विज्ञापन खोल्ने गरेका छौं ।’ 

वडा सचिव मात्र होइन, जिल्लाका स्थानीय तहमा अन्य पदमा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।