राजनीति

पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन संयोजक बनेका एमाले नेता डाक्टर बस्याल पार्टीबाट निष्कासित

बिज्ञापन

रुपन्देही । पूर्व राजा ज्ञानेन्द्रको नेकपा एमालेले अभिनन्दन कार्यक्रमको संयोजक बनेका नेकपा एमालेका नेता डा. रामप्रसाद बस्याललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

बिज्ञापन

उनी स्थानीय तहको निर्वाचनमा भैरहवामा रहेको सिद्धार्थ नगरपालिकामा पार्टीको तर्फबाट मेयर उम्मेदवार बनेर पराजित भएका थिए ।

पूर्व राजा ज्ञानेन्द्र शाहलाई भैरहवामा अभिनन्दन गर्न गठित मूल समारोहको संयोजक बनेका बस्याललाई एमालेले निष्कासन गरेको हो ।

एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले शनिवार एक विज्ञप्ति जारी गर्दै एमाले नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र यसका मूलभूत मान्यताप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको भन्दै त्यस विपरीत हिँडेकाले बस्याललाई पार्टीबाट निष्कासन गरिएको जनाएका छन् ।

एमालेमा बसेर नेपाली जनताले फ्याँकेको राजतन्त्रको पक्षमा आफूलाई उभ्याएर पार्टीको नीति विरुद्ध लाग्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने र यस प्रकारको अनुशासनहीनता क्षम्य हुन नसक्ने भन्दै विज्ञप्तिमा बस्याललाई आजकै मितिदेखि लागू हुने गरी निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पूर्व राजा ज्ञानेन्द्र यही १५ पुसभित्र भैरहवा आउने तयारी छ । भैरहवाका पुराना वामपन्थी नेता बस्याल एमालेको लुम्बिनी प्रदेश कमिटी पूर्व सल्लाहकार हुन् । उनी गत स्थानीय निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका थिए ।

डा. बस्यालले आफूले एमाले छाडि नसकेको तर धर्म निरपेक्षता र प्रदेश संरचनाका विषयमा पार्टीसँग असहमत रहेको बताए । ‘हिन्दु राष्ट्र र प्रदेशसहितको संघीयताप्रति जनता सहमत छैनन्, विरोधमा छन्’, बस्यालले भने, ‘यी दुई एजेण्डामा म पनि पार्टीसँग सहमत थिइन, देश बचाउन पूर्वराजाले गर्ने राम्रा काममा मेरो समर्थन रहन्छ ।’

बिज्ञापन