सुदूरपश्चिम प्रदेश

कैलालीको चिसापानी–राजकाँडा केबुलकार २ वर्ष भित्र सञ्चालनमा आउने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको चिसापानी–राजकाँडा केबुलकार २ वर्ष भित्र सञ्चालनमा आउने भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी र मोहन्याल गाउँपालिका–७ राजकाडाँसम्म २ वर्ष भित्र केबुलकार सञ्चालनमा ल्याउने दाबी गरिएको हो।

कैलालीको प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको कर्णाली चिसापानी र राजकाँडा जोड्ने केबुलकार निर्माणको काम सुरु गरिएको थियो। कम्पनीले नेपाल सरकारलाई रुखको क्षति बाफतको तीन करोड ५० लाख रुपैयाँ बुझाएको थियो। हाल केबुलकार निर्माणका लागि रुख कटानीको काम सकिएको छ। योजनास्थलमा एक हजार आठ सय ६६ वटा रुख तथा पोलहरू काटिएका छन्। कम्पनीले रुखहरू काटेर काठ तथा दाउरा वन कार्यालयको जिम्मा लगाउने छ।

बिज्ञापन

जाल्पादेवी केवलकार कम्पनीको नाममा रहेको दुई सय ५० रोपनी जग्गामा घेरबारको काम जारी छ। हालसम्म एक दशमलव पाँच किलोमिटर क्षेत्रमा पर्खाल निर्माणको काम पूरा भएको छ। चिसापानीमा १३ बिघा र केबुलकार सञ्चालन हुने क्षेत्रमा थप सात बिघा जग्गा कम्पनीले प्रयोग गर्ने छ। कम्पनीले २० बिघा जग्गा नेपाल सरकारलाई सट्‍टामा दिएको छ।

कम्पनीले राजकाडाँसम्म जान सडक र राजकाँडामा खानेपानीका लागि काम गर्दै छ। केबुलकार सञ्चालनका लागि तयार पारिएको विस्तृत योजना प्रतिवेदन (डिपीआर) संशोधनको काम अहिले जारी रहेको छ। पाँच तारे होटेलसहितका भौतिक संरचनाहरू निर्माणको काम जारी हरेपनि २ वर्षमा केबुलकार सञ्चालनमा ल्याउने योजनामा कम्पनी रहेको छ। जाल्पादेवी केबुलकार कम्पनीका सञ्चालक सूर्यबहादुर थापाले २ वर्ष भित्रमा चिसापानी–राजकाँडा केवलकार सञ्चालनमा आउने बताए। उनले भने, ‘रुख कटानीको काम सकिएको छ। हाल पर्खाल निर्माण, सडक निर्माण र खानेपानीको काम हुँदैछ। डिपीआर संशोधन गर्दैछौ। २ वर्ष भित्रमा केबुलकार सञ्चालनमा ल्याउने योजना छ। अन्य संरचनाहरू निर्माण हुँदै जान्छन्।’

चिसापानीबाट केबुलकारमा राजकाँडा पुग्न करिब २० मिनेट लाग्ने छ। केबुलकारमा भ्रमण गर्ने पर्यटकले सो २० मिनेटमै फरक फरक वातावरणको आनन्द लिन पाउने दाबी कम्पनीको छ। पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने पार्टी प्यालेस, होटेल तथा रेस्टुरेन्ट, जाल्पा देवीको ठूलो मुर्ति, दरवार, गुफा व्यवस्थीत गर्ने योजनामा कम्पनी रहेको छ। राजकाडाँमा प्राकृतिक चिकित्सालयको योजनासमेत बनाइएको छ। मोहन्याल गाउँपालिका वडा नम्बर ७, राजकाँडा चिसापानीबाट ६ किलोमिटर ठाडो उकालोपछि आउँछ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग थापाले लगानी साझेदारी गरेका छन। केबुलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन्। केबुलकार दैनिक छ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ।

कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको योजनास्थलबाट सुरु हुने केबुलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाश धामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ। सुदूरपश्चिम प्रदेशको प्रदेशद्वारका रुपमा रहेको कर्णाली चिसापानीमा पनि केवलकार निर्माण थालिएको हो।

केबुलकारबाट हुने कूल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ। केबुलकार निर्माणपछि पर्यटन प्रवर्धन र रोजगारीका अवसर सिर्जना भई स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।