स्वास्थ तथा सरसफाइ

ललितपुरका १६ वर्षीय बालकमा हैजा पुष्टि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, साउन ८ गते। ललितपुरका १६ वर्षीय बालकमा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा उपचाररत १६ वर्षीय बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो।  

उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवको ठैवस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) बस्ने उहाँमा हैजा पुष्टि भएको हो।  

बिज्ञापन

त्यस्तै, सोही ठाउँबाट आउनु भएका एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ उहाँ आइसियुमा उपचाररत  हुनुहुन्छ। 

उहाँ भन्नुहुन्छ, “सोही ठाउँबाट हैजाका लक्षण लिएर चार जना युवा आउनुभएको थियो एक जनामा हैजा पुष्टि भयो। अर्को एक जनाको रिपोट कल्चरको लागि दिइएको छ। दुई जना सोमबार राति अस्पतालबाट भाग्नुभयो।”

पछिल्लो समय अस्पतालमा झाडा पखाला भएर दैनिक करिब १० जनाको हाराहारीमा बिरामी उपचारका लागि आउने डा. बसौला बताउनुहुन्छ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हैजा अन्य ठाउँमा फैलन नदिन हैजा भेटिएको पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिइसकेको बताउनुभयो। 

 के हो हैजा ?

अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले हैजा भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण लाग्ने अति सङ्क्रमण झाडापखाला हो।  उहाँका अनुसार हैजा बनाउने ब्याक्टेरिया शरीरभित्र प्रवेश गरेर  झाडापखाला लागि जलवियोजन भएर मृत्यु समेत हुनेगर्छ।  

उहाँ भन्नुहुन्छ, ‘‘हैजा भएका मानिसको दिसामा उक्त कीटाणुहरू निस्कन्छन्। ती कीटाणु पानी र खानाको माध्यमबाट मानिसको पेटमा जाने गर्छ। मानिसको सानो आन्द्रामा सो ब्याक्टेरियाले सङ्क्रमण गरी झाडापखाला लाग्ने गर्छ।’’ हैजा भएका दशमध्ये एक जनामा गम्भीर हैजा हुने अध्ययनले देखाएको छ।

चिकित्सकका अनुसार हैजाका कीटाणु शरीरमा प्रवेश गरेको २४ घण्टादेखि हैजाका लक्षण देखिने गर्दछन्।

हैजा दूषित पानीको माध्यमबाट सर्ने गर्छ। त्यसका अतिरिक्त बासी खानेकुरा खाएमा, नपकाएको खानेकुरा, सङ्क्रमित व्यक्तिले हात नधोई सरसामान छोएमा हैजा सर्छ। 

डा. पुनका अनुसार निरन्तर पातलो चामल धुँदा निस्कने चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाको प्रमुख लक्षण हुन्। 

लक्षण सामान्यतः पाँचदेखि सात दिनसम्म रहने चिकित्सक बताउँछन्। झाडापखाला निरन्तर लाग्ने हुँदा शरीरमा पानीको मात्रा घट्ने हुँदा केही घण्टाभित्रै जलवियोजन तथा इलेक्ट्रोलाइटको कमी हुने चिकित्सक बताउँछन्। 

जलवियोजनका कारण तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने जस्ता लक्षण देखिन्छन्।

हैजा लाग्न नदिन सधैँ पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरे मात्रै पिउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, बासी सडेगलेका खानेकुरा नखाने, खाना छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारी सरसफाइलाई विशेष ध्यान डा. पुनको सुझाव छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।