भारतमा लुटिए २३ जना नेपाली श्रमिक, लठ्याउने औषधि दिएर लुटपाट

धनगढीः भारतका विभिन्न सहरमा लुटिने नेपाली श्रमिकको संख्या बढ्दो छ। चाडपर्वको समयमा घर फर्किनेक्रममा लठ्याउने औषधि दिएर नेपाली श्रमिकलाई भारतीय भुमिमै लुटपाट गर्ने गरिएको छ।
यसैक्रममा भारतको हिमाञ्चलमा मजदुरी गरेर दशैँतिहार मनाउन घर फर्किँदै गरेका कैलालीको घोडाघोडीका रविलाल बराल पनि लुटिएका छन्। उनी भारतको हरिद्वारमा लुटिएका हुन्। भारतको मैनालीबाट बसको एकै सिटमा बसेर आएका व्यक्तिले नै हरिद्वारको बसपार्कमा विश्राम गरिरहेको बेला लठ्याउने औषधि दिएर लुटेको बरालको भनाइ छ।

चार महिनासम्म मजदुरी गरेर कमाएको भारतीय ६० हजार ५ सय रुपैयाँ र झोला लुटिएको उनको गुनोसो छ। हरिद्वारमा अलपत्र परेपछि उनलाई भारतीय बसले सीमा नाका बनबासासम्म र त्यहाँबाट अटोले नेपालस्थित कञ्चनपुरको गड्डाचौकीसम्म निःशुल्क ल्याइपुगाएका छन्।
घर, सडक तथा अन्य निर्माणका काममा मजदुरी गर्न उनी गत जेठमा हिमाञ्चल पुगेका थिए। करिब ५ महिना काम गरेर दशैं मनाउन घर फर्किरहेका उनको कमाई बाटोमै लुटिएको हो। झोलामा घर परिवारका लागि नयाँ कपदा र खानेकुराहरु थिए । जुत्ता पनि नयाँ किनेका थिए। सबै लुटेराले लगेको उनले बताए। शरीरमा भएको एक जोर लुगा र लुटेराले छाडेका जुत्ता लगाएर उनी गड्डाचौकी पुगेका हुन्।
हरिद्वारबाट रोडवेजको गाडीमा भाडा छुट गरिदिएपछि सीमावर्ती बजार बनबासासम्म पुगेको उनले बताए। उनी हिजो (बुधवार) बिहान खाली हात गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेर घटनाक्रम र आफ्नो अवस्थाबारे बताएपछि सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सञ्चालित नागरिक सीमा सहायता कक्षले बराललाई घरसम्म पुग्ने बस भाडा र खाना खर्च दिएर घर पठाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
