पूर्वाद्धको प्रेम, उत्तरार्धको सत्ता–राजनीतिः संगीत र रेडियोले कसेको दम्पत्ती सम्बन्ध पार्टीले ‘भताभुङ्ग’

काठमाडौं– जीवनको पूर्वाद्धको मिठो गीत र सम्बन्धको लय उत्तरार्धमा राजनीतिक राप ताप र सत्ता शक्तिले कसरी चिसो र भताभुङ्ग पार्छ भन्ने उदाहरण बन्दैछन्, रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठ।
अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा देखिएको विग्रहको अवस्थाले त्यसैको प्रमाण झझल्कोका रुपमा प्रस्तुत गरिरहेको छ।

१६ बर्षको उमेरकी रहँदा रञ्जिता श्रेष्ठ काठमाडौंमा भविष्य खोज्दै आएको कैलाली टीकापुरको ‘थारु’सँग आकर्षित भइन्। यो सम्बन्ध प्रेम, भागी बिहे, संगीतको सहकार्य, संयुक्त रेडियो स्थापनामा कसिलो थियो।
यहाँसम्मकी निर्वाचनअघि पार्टी गठनपूर्व र रेशमलाल चौधरी थुनामा रहँदासम्म पनि सम्बन्धमा चरम अमिलो, नुनिलो र तितोपन आएको थिएन।
तर अहिले एकले अर्कालाई ‘देखाइदिने’ अवस्थामा पुगेको छ।
रेशमलाल चौधरी रेडियो नेपालमा २०५३ सालमा सुर परिक्षा पास भए। ०५४ सालमा पूर्णिमा नामको एल्बम निकालेर चर्चा कमाए। रञ्जिता आकर्षित भइन्। प्रेम बस्यो।
प्रेम झाँगियो र जातीय पर्खाललाई समेत नाघेर भागी बिहे गरेका थिए।
कैलालीको टीकापुरमा फर्किएर रेडियो फूलबारी खोले, मिले। त्यसअघि म्युजिक भिडिओ नै बनाइसकेका थिए।
नयाँ डेरा लिएर चार बर्ष बसेर खाएको जागिर, रेडियो सगरमाथादेखि अन्यत्रमा काम दुवै जनाले गरेको संघर्षको काम, लोक गीतको कार्यक्रम चलाएर कमाएको नाम र दामको लगानी टीकापुरमा भएको थियो।
यो सफलताको कसी बलियो हुँदै जाँदा टीकपुर घटना, त्यसमा रेशम चौधरी दोषी ठहर हुनु र भाग्नुले नयाँ मोड लियो। त्यहि मोडमा पनि आँसुबीच हाँसो खोजिरहेको यो जोडीको नयाँ गोरेटो नागरिक उन्मुक्ति पार्टी (नाउपा) बन्यो।
जनताले विश्वास गराएर राष्ट्रिय दल बनाई सत्तासम्म पुग्ने अवस्थामा ल्याउँदा अब शक्तिको चरमपन्थी अहंकारको गन्ध आउँदा अहिले दुवैको सम्बन्धमा दरार आएको छ।
पछिल्लो घटनाक्रमलाई मात्र हेर्दा पनि यी छारष्ट प्रमाण जस्ता लाग्छन्।
नाउपामा रेशम–रञ्जिता दम्पतीबीच ०८० पुस तेस्रो साता (टीकापुर महाधिवेशन) देखि सुरु भएको शक्ति संघर्ष अन्ततः ०८२ साउन १५ गते पार्टीका संस्थापक नेता रहेका रेशम चौधरी पक्षधरले पार्टी अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाउने घटनाका रूपमा देखियो।
नाउपाको राष्ट्रिय भेलाले अध्यक्ष चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी हटायो। त्यसअघि साउन १४ गते निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्ने निर्णय गरेको थियो। सोही निर्णयमा टेकेर बुधबार काठमाडौंमा आयोजित भेलाद्वारा अध्यक्ष श्रेष्ठ चौधरीलाई हटाउने निर्णय गरेको थियो।
अध्यक्षसहित २१ जना केन्द्रीय सदस्य रहेको नाउपामा बुधबार आयोजित राष्ट्रिय भेलामा १२ जनाको उपस्थिति थियो।
यस्तै राष्ट्रिय भेलाका प्रतिनिधिहरूमा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बोलाइएको थियो।
राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठ चौधरीमाथि पाँच कारण देखाएर कारबाही गरेको सहभागी नेताहरूले बताएका थिए। बैठक नबोलाएको, स्पष्टीकरण नबुझाएको, कार्यवाहक तोकेको, पोखराको लिचीबारी जग्गा अनियमितता प्रकरणमा मुछिएको र पार्टीको विधिविधान मिचेको आरोप लगाइएको थियो।
केन्द्रीय समितिको अध्यक्षको जिम्मा लालवीर चौधरीलाई दिएको थियो। साउन १४ र १५ गते बसेको रेशम पक्षको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष तोकेको थियो। बर्दिया–२ बाट संघीय सांसद निर्वाचित लालवीर रेशमका बुवा र रञ्जिताका ससुरा हुन्।
रञ्जिताले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधिन्। पार्टी हितविपरीत, विधान र राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानविपरीत कार्य गरेको भन्दै अध्यक्ष श्रेष्ठले दलका नेता चौधरीलाई स्पष्टीकरण सोधिन्।
यसैबीच निर्वाचन आयोगले बुधबार एउटा निर्णय दियो। नाउपाको आधिकारिक अध्यक्ष रञ्जिता नै हुन् भनी निर्णय आयो। आयोगका प्रमुख आयुक्तसहितको बैठकले यस्तो निर्णय गरेपछि रञ्जिताको टीकटक हर्षका साथ आयो,‘आज मे उपर, आशमा निचे अर्थात् म आज ममाथि छु, आकाश तल छ।’
यस्तो निर्णयले रेशमलाललाई दुखी बनाएको हुनुपर्छ। यसकारण उनी भन्दै होलान्,‘रञ्जिता आई हेट टीयर्स।’
सभार : सी.एन. न्यूज
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
