टिओबी समूहका सदस्य पक्राउ

पेस्तोल देखाएर आतंक मच्चाएको भिडियो भाइरल भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कपनको पैँयुटार बस्ने २९ वर्षीय तेन्जिङ दावा लामालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
टिब्बेतियन ओरिजिनल ब्लड (टिओबी) नामको टिसर्ट लगाएर उनले गालीगलौज गरेको र कम्मरमा पेस्तोल भिरेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो । सोही घटनापछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

गत महिनाको जेन–जी आन्दोलनसँग जोेडेर सो फोटो सार्वजनिक गरिए पनि ५–६ महिनाअघिको एक मोटरसाइकल र्यालीको भएको खुलेको छ । पक्राउ परेका लामाले उक्त पेस्तोल नक्कली भएको बताएका छन् । प्रहरीले उनको घरबाट मेड इन जर्मनी लेखिएको पेस्तोलजस्तो देखिने वस्तु बरामद गरेको छ ।
लामाले पेस्तोल देखाएर डर, त्रास फैलाएकाले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा ६ दिन थुनामा राख्न म्याद लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए । उनको घरबाट टिओबी लेखिएको ज्याकेट पनि बरामद गरेको छ । प्रहरीले सो समूहका गतिविधिमाथि पनि छानबिन थालेको छ । सो समूह टीओबी लेखिएको टिसर्टसहित २४ भदौको आन्दोलनमा समेत संलग्न भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
