टिकटकको माध्यमबाट नेपाली युवतीको चीनमा तस्करी

नेपालमा लामो समयदेखि बस्दै आएका चिनियाँ नागरिकले सामाजिक सञ्जाल टिकटकको माध्यमबाट नेपाली युवतीहरूको चीनमा तस्करी गर्दै आएको खुलेको छ । यस्तो अपराधमा संलग्न चारजनालाई पक्राउ गरेर छानबिन सुरु भएको छ । अध्यागमन विभागले शुक्रबार सोह्रखुट्टेको मिलिजुली चोकबाट एक महिलासहित चार चिनियाँलाई पक्राउ गरेको हो । उनीहरूले आर्थिक अवस्था कमजोर भएका नेपाली युवतीलाई टिकटकमार्फत चिनियाँ युवकहरूसँग चिनजान गराउने र बिहे गरेर चीन लैजाने गरेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकाल बताउँछन् ।
‘आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीहरूलाई जागिरको प्रलोभनमा पारी सामाजिक सञ्जालमा टिकटक बनाउन लगाउने र टिकटकमार्फत अन्य चिनियाँसँग साथी बनाई बिहे गर्न लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ ढकाल भन्छन्, ‘टुरिस्ट भिसामा समेत उता लगेर बिहे गरेको सूचनामा छानबिन गरिरहेका छौँ ।’ बिहे गर्न खोज्ने चिनियाँ युवकसँग नेपाली किशोरीहरूलाई टिकटकमा चिनजान गराई उनीहरूले नजिक बनाए बिहे गराउँदै आएको अध्यागमनको प्रारम्भिक छानबिनमा खुलेको छ ।

शुक्रबार अध्यागमन र प्रहरीको टोली चिनियाँले भाडामा लिएको घरमा पुग्दा त्यहाँ पाँचजना नेपाली किशोरीसमेत भेटिएका थिए । पक्राउ परेकामध्ये दुईजनासँग पासपोर्टसमेत भेटिएको छैन । उनीहरूमध्ये दुईजना १० वर्षदेखि नेपालमा बस्दै आएको पनि विभागले जनाएको छ । सोधपुछको क्रममा अध्यागमन र प्रहरी टोलीमाथि उनीहरूले दुव्र्यवहारसमेत गरेका थिए ।
विभागका प्रवक्ता ढकालका अनुसार उनीहरू कहिले विद्यार्थी त कहिले पर्यटक भिसामा नेपालमा बस्दै आएका थिए । पछिल्लो समय बिजनेस भिसा लिएको देखिएको छ । तर, उनीहरूले कुन क्षेत्रमा बिजनेसमा लगानी गरेका छन् भन्ने खुलाउन सकेका छैनन् । यस विषयमा विस्तृत अनुसन्धान गरिने विभागले जनाएको छ । उनीहरू बारम्बार अन्य देशसमेत जाने गरेकाले आर्थिक अपराधमा पनि मुछिएको आशंका छ । भिसाको दुरुपयोग गरेको सूचनाका आधारमा अध्यागमनले उनीहरूलाई नियन्त्रणमा लिएर छानबिन गर्दा विस्तृत अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको हो ।
मिलिजुली चोकमा दुई–तीनवटा घर नै भाडामा लिएर चिनियाँहरू बस्दै आएको विभागले जनाएको छ । जहाँ ठुलो संख्यामा चिनियाँ बस्दै आएका छन् । सो स्थानलाई स्थानीयले चिनियाँ हाउजिङका नामले चिन्ने गरेका छन् । त्यहाँभित्र अनेक अपराध हुँदै आएको आशंका व्यक्त गरिएको छ । नेपाली युवतीहरूको उनीहरूले पोर्न भिडियोसमेत बनाउने गरेको सूचना अध्यागमनका अधिकारीले पाएका छन् । उनीहरूका अपराधबारे प्रहरीसँग मिलेर अनुसन्धान गरिने प्रवक्ता ढकाल बताउँछन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
