रोहिंग्या प्रवेशको सूचनापछि सीमामा कडाइ

रोहिंग्या शरणार्थीको प्रवेश रोक्न नेपाली प्रशासनले भारतसँग जोडिएका सीमानाकामा सुरक्षा जाँचमा कडाइ गरेको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई अवैध रूपमा भइरहेको प्रवेशलाई पूर्ण रूपमा रोक्न निर्देशन दिएसँगै चेकजाँच कडाइ गरिएको हो ।
भारतमा अवैध बस्दै आएका केही रोहिंग्या नेपाल प्रवेश गरिसकेका छन् । हाल भारतमा मतदाता शुद्धीकरणका लागि स्पेसल इन्टेन्सिभ रिभिसन (एसआइआर) कार्यक्रम चलिरहेको छ । त्यो कार्यक्रमले प्रभावित हुने भएपछि रोहिंग्यालगायत भारतमा अवैध रूपमा बस्दै आएका नेपाल आउन थालेको सूचना सुरक्षा निकायको छ । नेपालमा करिब ६ सय रोहिंग्या अवैध रूपमा प्रवेश गरी बस्दै आएका छन् । भारतसँग १४४ किलोमिटर खुला नाका भएको झापा बंगलादेशबाट पनि नजिकको जिल्ला हो । यो खतरालाई आकलन गरेर प्रशासनले नाकामा सुरक्षाकर्मी तैनाथ राखेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । सशस्त्र प्रहरी र नेपाल प्रहरीले नाकामा आवतजावत गर्नेमाथि निगरानी गरिरहेका छन् ।

झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले झापा भएर अवैध रूपमा विदेशी नागरिक भित्रन सक्ने खतरा रहेकाले सशस्त्र प्रहरीसँग समन्वय गरेर उनीहरू छिर्न सक्ने सम्भावित नाकामा कडाइ गरेको बताए । ‘झापा भएर अवैध रूपमा विदेशी नागरिक भित्रने सम्भावना र चुनौती छ । गौँडा–गौँडामा कडाइ गरिरहेका छौँ,’ उनले भने, ‘मुख्य नाकामा पनि प्रत्येक नागरिकको परिचयपत्र हेरिरहेका छौँ । कतैबाट छिरेको भए पनि सहरी क्षेत्रमा पनि निगरानी गररहेका छौँ ।’
मधेश प्रदेशअन्तर्गत सप्तरीदेखि पर्सासम्म आठ जिल्लाका भारतसँग सीमा जोडिएका ४५६ किलोमिटर खण्डमा चार दिनदेखि २४सै घण्टा चेकजाँच भइरहेको महोत्तरीको बर्दीवासस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीले जनाएको छ । बाहिनीका सूचना अधिकारीसमेत रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोककुमार बमका अनुसार आठवटै जिल्लास्थित भन्सार नाकासहित अन्य सहायक नाकाबाट सीमा वारपार गर्नेको ६५ वटा बोर्डर आउटपोस्ट र प्रस्तावित सीमा सुरक्षा गुल्ममार्फत जाँच गर्ने, आधिकारिक कागजात हेर्ने गरिएको छ । ‘अहिलेसम्म अनधिकृत ढंगले प्रवेश गर्न खोज्नेहरू भेटिएका छैनन्,’ उनले भने ।
सप्तरीको कुनौली, छिन्नमस्ता र बेलही, सिराहाको ठाढी र माडर भन्सारसहित बरियारपट्टी, नरगी कचनारी, गोरगम्मा, अभयनगर, कमलपुर नाका, धनुुषाको जटही भन्सारसहित खजुरी, महिनाथपुर, दुहबी, हरिने, खौना नाकामा चेकजाँच बढाइएको छ । महोत्तरीको भिठ्ठामोड भन्सारसहित मटिहानी, समसी, इटहर्वाकट्टी, कट्टीकटैया, पोखरभिन्डा, रघुनाथपुर, खैरबन्नी, सर्लाहीको मलंगवा भन्सारसहित सोनर्सा नाका, रौतहटको गौर भन्सारसहित मटिहा, रामपुर खाप, बंकुल नाका, बाराको मटियर्वा छोटी भन्सारसहित झरोखर, सतुवाई, बैरिया, माङ्सांग्राम, गुलरिया, त्रिवेणीघाट, सन्तगन्ज, सनफुलवा, अमुवा, छतवा, मुसहरवा, बलिरामपुर नाका हुँदै आउनेहरूको चेकजाँच भइरहेको छ ।
मधेश प्रदेशमै सबैभन्दा बढी भारतसँग सीमा जोडिएको पर्साको १०७ किलोमिटर खण्डमा पर्ने वीरगन्ज भन्सारसहित अलौ, अमरपट्टी, पर्सौनी भाटा, भिसवा, ठोरी, पकाहामैनपुरमा १७ युनिटमा कार्यरत सशस्त्र प्रहरीबाट चेकजाँच गरिरहेको बमले बताए । नेपाल प्रहरी, मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाका अनुसार गृह मन्त्रालयको परिपत्रअनुसार आठवटै जिल्ला प्रहरीमातहत सीमावर्ती क्षेत्रमा पर्ने प्रहरी युिनटहरूबाट चेकजाँच भइरहेको, तर अहिलेसम्म अवैध रूपले प्रवेश गर्न खोज्नेहरू भेटिएका छैनन् ।
यसैगरी, भारतसँग जोडिएका सुदूरपश्चिममा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगरसहित सीमानाकामा सशस्त्र प्रहरीले डेढ सातायता चेकजाँचमा कडाइ गरेको छ । सीमामा खटिएका सुरक्षाकर्मीले नाकाबाट आउनेको परिचयपत्र चेकजाँच गर्ने, शंका लागेकालाई उनीहरू आएको र जान लागेको ठाउँबारे विस्तृत वितरण लिने काम गरिरहेका छन् । रोहिंग्या शरणार्थी भारतीय आधार कार्ड बनाएर विभिन्न नाकाबाट नेपाल आइरहेको भन्ने सूचनाका आधारमा चेकजाँचमा कडाइ गरिएको सीमामा खटिएका सुरक्षा अधिकारीहरूले बताएका छन् ।
‘भारतीय आधार कार्ड बनाएर इँटाभट्टामा काम गर्ने मजदुर, कामदारका रूपमा शरणार्थी छिर्ने गरेको भन्ने आएको छ,’ धनगढीमा रहेको त्रिनगर भन्सार नाकास्थित सशस्त्र प्रहरीको त्रिनगर सीमा सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक धीरेन्द्र शाहले भने, ‘पारि (भारततर्फ) नाकामा खटिएका एसएसबीलाई पनि त्यस्तो शंका लागे खबर गर्नुहोला भनेका छौँ ।’
कैलालीको १०१ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । नाकासँगै खुला सिमानामा पनि निगरानी बढाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । नाकाबाट भित्रिनेको परिचयपत्र हेर्ने, खुला सीमाक्षेत्रमा गस्ती बढाएर निगरानी गर्ने काम भइरहेको उनको भनाइ छ । कैलालीमा सशस्त्र प्रहरीका १५ वटा सीमा सुरक्षा पोष्ट छन् ।
कञ्चनपुरकै गड्डाचौकी नाकामा पनि प्रहरीले चेकजाँच कडाइ गरेको छ । नाकामा पहिलेको भन्दा निगरानी र चेकजाँच बढाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । उनका अनुसार खुला सीमाक्षेत्रमा पनि सशस्त्र प्रहरीले गस्ती बढाएको छ । कञ्चनपुरमा भारतसँग जोडिएको १२९ किलोमिटर खुला सिमानालाई २४ वटा सशस्त्रका सीमा सुरक्षा पोस्टले निगरानी गर्ने गरेको छ । त्रिनगर र गड्डाचौकी नाकाबाट दैनिक कैयौँ भारतीय नागरिक रोजगारी, घुमफिरलगायतका लागि नेपाल आउने गरेका छन् । बैतडीको झुलाघाट नाकामा परिचयपत्रका आधारमा सुरक्षा पोस्टमा नाम ‘इन्ट्री’ गराएर ओहोरदोहोर गर्ने गरिएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नाकामा अनधिकृत आवतजावत हुन नदिन सुरक्षा सतर्कता अपनाइएको बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
