सडक सञ्जालमा जोडियो अछामको छडेना

अछाम । अछामको विकट बस्ती छडेना गाउँ सडक सञ्जालमा जोडिएको छ । जिल्लाको रामारोशन गाउँपालिका–४ बाटुलासेनस्थित छडेना गाउँ यस वर्षदेखि सडक पहुँचमा आएको हो ।
गाउँपालिकाका अधिकांश टोल तथा बस्तीमा पहिल्यै सडक पुगिसके पनि छडेना भने वर्षौंसम्म सडक सञ्जालको पहुँचबाहिर रहँदै आएको थियो ।

यस वर्ष गाउँसम्म सडक विस्तार भएपछि आवतजावत, शिक्षा, स्वास्थ्य सेवा तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ ।
छडेनास्थित नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक देवराज खनालले छडेना गाउँ औपचारिक रूपमा सडक सञ्जालमा जोडिएको जानकारी दिए । ‘यस वर्ष छडेना गाउँ औपचारिक रूपमा सडक सञ्जालमा जोडिएको छ । सडक पुगेपछि गाउँको समग्र विकासमा ठूलो टेवा पुग्ने छ, यस कार्यमा सहयोग गर्नु हुने सबैलाई धन्यबाद !’ उनले भने ।
छडेनामा सडक विस्तारका लागि खनाल आफै पनि लामो समयदेखि सक्रियरुपमा लागेका थिए । स्थानीय सरकारदेखि केन्द्रीय सरकारसँग खनालले सडक र विद्युत् विस्तारका लागि पहल गरिरहेका थिए ।
आफुले गरेको पहलमा वडाध्यक्ष तर्कराज उपाध्याय र रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले साथ र सक्रियता देखाएपछि यो वर्ष सडक विस्तारको काम सम्पन्न भएको प्रधानाध्यापक खनालले बताए ।
स्थानीयवासीहरूले सडक पुगेपछि गाउँको आर्थिक, सामाजिक तथा शैक्षिक विकासले गति लिने विश्वास व्यक्त गरेका छन् । सडकसँगै गाउँमा कृषि तथा व्यापारको सम्भावना पनि बढ्ने विश्वास गरिएको छ ।
यद्यपि, सडक विस्तार भए पनि छडेनामा अझै विद्युत् पुग्न सकेको छैन । स्थानीयवासीले सडकसँगै विद्युत् सेवा छिट्टै विस्तार हुनुपर्ने माग गरेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
