सय दिनभित्र लाइसेन्स घर–घरमा पुर्याउन सम्भव छ ? यातायात व्यवस्था विभाग भन्छ : गृहकार्य थालिसक्यौँ

काठमाडौं । बालेन्द्र शाहको नेतृत्वमा बनेको नयाँ सरकारले एक सय दिनभित्र गर्ने १०० शासकीय सुधारकार कामको सूची सार्वजनिक गरेको छ । त्यसअन्तरगत समावेश गरिएको एउटा काम हो– लाइसेन्स प्रिन्ट गरेर घर–घरमा हुलाकमार्फत पुर्याउने ।
अहिले ५ वर्षदेखि ट्रायल पास गरेका र लाइसेन्स नवीकरण गर्न दिएका सेवाग्राहीको करिब २७ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । सरकारले अति आवश्यक परेका सेवाग्राहीहरूलाई मात्रै लाइसेन्स प्रिन्ट गरेर दिइरहेको छ । जेनजी आन्दोलनभन्दा पहिले विभिन्न जिल्लाका लाइसेन्स प्रतिदिन ३ देखि ५ हजार प्रिन्ट गरेर दिइरहेको थियो । तर, आन्दोलनका कारण यातायात व्यवस्था विभागसँग भएको लाइसेन्स प्रिन्ट गर्ने मेसिन क्षति भएपछि मर्मत हुन सकेन । करिब २० दिनभन्दा धेरै सेवा बन्द भएपछि विभागले सुरक्षण मुद्रण केन्द्रलाई लाइसेन्स छपाइ गर्न दियो ।

अहिले विभागमा अति आवश्यक भनेर परेको निवेदनअनुसार मात्रै लाइसेन्स प्रिन्ट भइरहेको छ । अति आवश्यक भएको प्रमाण पेस गरेर अनलाइन वा विभागमै गएर आवेदन दिएको ७ हप्ताभित्र लाइसेन्स प्रिन्ट भएर आउने गरेको छ । अब लाइसेन्स नपाउने समस्या हटाउने भन्दै नयाँ सरकारले १०० दिनभित्रै घर–घरमा हुलाकमार्फत लाइसेन्स पठाउने लक्ष्य लिएको हो ।
सरकारले नागरिकलाई उपलब्ध गराउने सेवालाई थप सहज र प्रविधिमैत्री बनाउँदै सरकारी कागजातहरु घरमै पु¥याउने नयाँ योजना अघि सारेको छ । सरकारी सेवालाई नागरिकको ढोकामै पुर्याउने उद्देश्यका साथ परम्परागत हुलाक सेवालाई आधुनिकीकरण गरी गभर्नमेन्ट कुरियर सर्भिसका रुपमा विकास गरेर घर-घरमा लाइसेन्स पुर्याउने भनिएको छ ।
नयाँ व्यवस्था अन्तर्गत नागरिकले सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन सरकारी कार्यालय धाइरहनु पर्ने छैन । हुलाक सेवाको संयन्त्रलाई प्रयोग गरेर लाइसेन्स सेवाग्राहीको घरमै पुर्याउने व्यवस्था मिलाइने भनिएको छ ।
सरकारले यो महत्वाकांक्षी योजना आगामी १०० दिनभित्रै पूर्णरुपमा लागू गर्ने लक्ष्य राखेको छ । यसबाट सरकारी कार्यालयहरुमा हुने अनावश्यक भीडभाड कम हुने र सर्वसाधारणले झन्झटरहित रुपमा सेवा पाउने अपेक्षा गरिएको छ ।
सरकारले आगामी एक सय दिनभित्र गर्ने कामको ६ नम्बर पेज र २७ नम्बर बुँदामा भनिएको छ, ‘सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी गभर्नमेन्ट कुरियर सर्भिसका रुपमा विकास गर्ने, जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू/सामग्रीहरु घरमै पुर्याउने व्यवस्था १०० दिनभित्र लागू हुनेछ ।’
विभागमा लाइसेन्स लिन आएका सेवाग्राहीहरु एक सय दिनमा घरमै लाइसेन्स पुर्याउने सरकारको योजना सफल हुने आशामा छन् । अति आवश्यक लाइसेन्स प्रिन्ट भएर लिन आएका युवराज पौडेलले भनेको समयमा अहिले पनि लाइसेन्स प्रिन्ट भएर आएको र नयाँ सरकारले अगाडि सारेको योजनामा काम गर्ने हो भने सफल हुने बताए । अन्य सेवाग्राहीको धारणा पनि यस्तै छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
