कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा, डुङ्गाको सहायतामा नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुरः कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ।
विक्रम संवत् २०८३ असोज १७ गतेसम्म पुल निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग निर्माण कम्पनीसँग सम्झौता भएको र सम्झौता मिति अगाडि नै पुल निर्माण सक्ने गरी काम भइरहेको निर्माण कम्पनीका इञ्जिनियर धिरेन्द्र सहनीले जानकारी दिए। “विसं २०७९ पुस महिनामा सम्झौता भएर सर्वेक्षणपछि २०८० मा निर्माण काम सुरु गरेका हौँ, असोजसम्म म्याद भए पनि असार अन्त्यसम्म काम सकेर सरकारलाई बुझाउने गरी काम भइरहेको छ”, उनले भने, “सम्झौता मितिभन्दा अगावै नै काम सक्छौँ।”

चौध पिलरको पुलका सबै पिलर बनिसकेका छन् भने अहिले १२औँ स्पानमा काम भइरहेको छ। अबको १५ दिनभित्र त्यो पनि सकेर १३औँ स्पानको काम सुरु हुनेगरी काम भइरहेको उहाँको भनाइ छ। स्पानसँगै कैलालीतर्फको भागमा तटबन्धको काम पनि सँगसँगै भइरहेको छ। पुलको काम अन्तिम चरणमा पुग्नै लाग्दा अहिले नदी वारपार गर्ने मानिसहरु आधा पुल र आधा नदीको बाटो प्रयोग गरेर नदी वारपार गरिरहेका छन्।
नदीको पानी ‘डाइभर्सन’ गरिएकाले पहिलेको जसरी डुङ्गाको सहायतामा नदी पार गर्नुपर्ने अवस्था नागरिकको अहिले नै टरेको छ। आफ्नै सवारीसाधन प्रयोग गरेर नदी वारपार गरिरहेका कैलालीको टीकापुरका भरत विकले बताए। “रकम तिरेर डुङ्गाको सहायतामा नदी तर्नुपर्ने बाध्यता थियो, अब टरेको छ,” उनले भने, “यो पुल निर्माण सकिएमा कैलाली र बर्दियाका नागरिकलाई धेरै राहत हुन्छ।”
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
