आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन टीकापुर लगाएत नेपालका विभिन्न ठाउँमा रक्तदान शिविरको आयोजना, १२०८ पिन्ट रगत संकलन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १२ वैशाख । सन्त निरंकारी सत्संग भवन टीकापुर लगाएत नेपालका विभिन्न ठाउँमा रक्तदान शिविरको आयोजना गरिएको छ ।

सन्त निरंकारी सत्संग भवन टीकापुरमा आयोजित रक्तदान शिविरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा कैलाली क्षेत्र नं. १ का प्रतिनिधि सांसद कोमल ज्ञवालीले सन्त निरंकारी मिशनले नेपालमा रक्तदान गर्नुका साथै समय–समयमा राहत तथा सरसफाइका कार्यक्रम सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।

बिज्ञापन

उहाँले “रक्तदान, जीवनदान” भन्ने शब्द केवल उक्तिमा मात्र नभई वास्तविकता भएको बताउँदै हाम्रो सानो प्रयासले कसैको जीवन बचाउन सक्ने बताउनुभयो । नेपालजस्तो देशमा आकस्मिक दुर्घटना, शल्यक्रिया तथा अन्य कारणले रगतको अभाव हुने भएकाले यस्तो अवस्थामा सुरक्षित रक्तदाता नै जीवनदाता बन्ने गर्दछन् । रक्तदान गर्दा दातालाई कुनै हानि हुँदैन, तर यसबाट कसैको प्राण भने बचाउन सकिन्छ, उहाँले बताउनुभयो ।

यस कार्यलाई सन्त निरंकारी मण्डल नेपालले वर्षौंदेखि समाजसेवाका रूपमा निरन्तर सञ्चालन गर्दै आएकोमा उहाँले धन्यवाद दिनुभयो ।

सन्त निरंकारी मिशनले समाजका लागि सधैं हितकारी कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस संस्थाले यस्ता कार्यलाई निरन्तर अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मानवीय भावनालाई आत्मसात् गर्दै “रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतारेर सबैलाई रक्तदान गर्न आग्रह गर्नुभयो ।

त्यस्तै, सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई विशुद्ध आध्यात्मिक विचारधारा भएको बताउनुभयो । उहाँले मिशनले सबै जाति, भाषा, सम्प्रदाय तथा साना–ठूला सबै वर्गका मानिसलाई समेट्दै समय–समयमा रक्तदानमार्फत समाज सेवामा योगदान पु¥याउँदै आएको बताउनुभयो ।

उहाँले निरंकारी मिशनबारे प्रकाश पार्दै रक्तदान कार्यक्रमको सुरुवात २४ अप्रिल १९८६ मा भएको बताउनुभयो । बाबा गुरबचन सिंह जीको हत्यापछि मिशनका अनुयायीहरूले “रगतको बदला रगतले लिन्छौं” भन्दा बाबा हरदेव सिंह जी महाराजले उपस्थित सन्त–भक्तहरूलाई सम्बोधन गर्दै भन्नुभएको थियो, “बदला त अवश्य लिन्छौं, तर रगतलाई नालीमा होइन, नाडीमा बगाएर लिन्छौं ।” अर्थात् रगतको अभाव भएका व्यक्तिलाई रक्तदान गरेर सेवा गर्ने भावना व्यक्त गरिएको थियो । त्यस समयदेखि निरंकारी मिशनमा रक्तदान शिविरको आयोजना हुँदै आएको र नेपालमा विगत ३० वर्षदेखि नियमित रूपमा रक्तदान शिविर सञ्चालन हुँदै आएको उहाँले बताउनुभयो ।

त्यस्तै, टीकापुर नगरपालिकाका मेयर रामबहादुर नगारजीले आफू पनि सानैदेखि सन्त निरंकारी मिशनसँग जोडिएको बताउनुभयो । उहाँले आज संसारमा मानिसले एकअर्काप्रति सम्मान नगरेकाले ठूला–ठूला युद्ध भइरहेको बताउनुभयो । यसको मुख्य कारण एकले अर्कालाई स्वीकार नगर्नु रहेको उहाँको भनाइ थियो ।

तर, निरंकारी मिशनले मानवलाई मानव भएर बाँच्न सिकाइरहेको उहाँले बताउनुभयो । आफूले पनि मिशनबाट सिकेको आदर–सत्कारको व्यवहार सबैप्रति प्रकट गर्दा मानिसहरूले प्रशंसा गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।

आज नेपालका विभिन्न ठाउँमा रक्तदान शिविर आयोजना गरी निम्न पिन्ट रगत संकलन गरिएको छ–

१. कैलाली (टीकापुर–६०, अमरावती–२७, सडकपुर बौनियाँ–९२, अत्तरिया–३८, धनगढी–३५)
जम्मा– २५२ पिन्ट

२. दाङ (तुलसीपुर–५५, पारस्पर–२२)
जम्मा– ७७ पिन्ट

३. काठमाडौं – ११८ पिन्ट
४. जनकपुर – १२७ पिन्ट
५. कञ्चनपुर – २५ पिन्ट
६. डडेल्धुरा – ०२ पिन्ट
७. कपिलवस्तु (चनौटा–३५, इटवा–१९) जम्मा– ५४ पिन्ट
८. बाँके – ८५ पिन्ट
९. बर्दिया – १४ पिन्ट
१०. रुपन्देही (बुटवल) – २५ पिन्ट
११. स्याङ्जा – ८२ पिन्ट
१२. सुर्खेत – १०९ पिन्ट
१३. वीरगञ्ज – ५४ पिन्ट
१४. मलंगवा – ३५ पिन्ट
१५. सिरहा – ४० पिन्ट
१६. राजविराज – १८ पिन्ट
१७. बन्दरझुला – २७ पिन्ट
१८. विराटनगर – ३२ पिन्ट
१९. धरान – ३२ पिन्ट

सबै ठाउँको गरी जम्मा १२०८ पिन्ट रगत संकलन गरिएको छ ।

बाँकी स्थानका सत्संग भवनहरूमा अर्को हप्ता रक्तदान शिविर आयोजना गरिने सन्त निरंकारी मण्डलले जानकारी गराएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।