दोधारा चाँदनीमा भजन, प्रवचन र श्रद्धाभावसहित समर्पण दिवस मनाइयो

दोधारा चाँदनी, २ जेठ । सन्त निरंकारी सत्संग भवन दोधारा चाँदनीमा समर्पण दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।

कञ्चनपुरको लठ्ठाघाटस्थित सन्त निरंकारी सत्संग भवनमा आयोजित कार्यक्रममा उपस्थित श्रद्धालु सन्त भक्तजनहरुलाई सम्बोधन गर्दै पिपरिया कञ्चनपुर सत्संग भवनका इन्चार्ज मानसिंह तिरुवाले सत्गुरुको ब्रह्मानुभूतिले समर्पण भावना जागृत गराउने बताउँदै सत्गुरु बाबा हरदेव सिंह जी महाराजको जीवनबाट प्रेरणा लिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले बाबा हरदेव सिंह जी महाराजले आफ्नो सम्पूर्ण जीवन मानव कल्याणका लागि समर्पित गर्नुभएको उदाहरण आज विश्वभर फैलिएको बताउनुभयो ।

सन् १९५४ फेब्रुअरी २३ मा जन्मिनुभएका बाबा हरदेव सिंह जी महाराजले २६ वर्षकै उमेरमा निरंकारी मिशनको जिम्मेवारी सम्हाल्दै प्रेम, नम्रता र सद्भावका साथ मानव सेवामा योगदान पुरयाउनुभएको उहाँले बताउनुभयो ।
रक्तदान, स्वच्छता अभियान, बाढी तथा प्राकृतिक प्रकोप पीडितलाई सहयोगलगायत विभिन्न सामाजिक सेवामूलक कार्यक्रममार्फत उहाँले विश्वस्तरमै प्रशंसनीय कार्य गर्नुभएको पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले गुरुप्रति निष्ठावान भई उत्तम भावनाले गरिएको सेवा नै सच्चा समर्पण हुने र त्यसबाट जीवनमा शान्ति तथा खुसी प्राप्त गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

समर्पण दिवस विशेष कार्यक्रममा स्थानीय लठ्ठाघाटका सत्संग इन्चार्ज भक्तबहादुर सुनार, सेवादल शिक्षक धुर्व सुनार, जोगबुढा सत्संग इन्चार्ज कर्णबहादुर खड्का लगाएत मदन सिंह, नन्दसिंह, सुरज, राकेश, दिनेश, निकिता, सारथी, ललिता र आरतीले भजन, कविता तथा प्रवचनमार्फत समर्पण दिवसको भावना र महत्वमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन सुरत सुनारले गर्नुभएको थियो ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.