जेसीबी र ट्याक्टरले घेरियो अस्पताल गेट, उद्घाटनअघि लम्कीचुहामा तनावपूर्ण अवस्था

लम्की चुहा । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटनलाई लिएर प्रदेश सरकार र स्थानीय तहबीचको विवाद झन् चर्किएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार बिहान अस्पताल उद्घाटन गर्ने तयारी गरेसँगै लम्कीचुहा क्षेत्रमा राजनीतिक तथा सुरक्षा तनाव बढेको हो।
यसअघि पनि उद्घाटन कार्यक्रम नगरपालिकाको अवरोधका कारण स्थगित भएको थियो। लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले अस्पताल सञ्चालन प्रक्रिया र कर्मचारी व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उद्घाटनमा अवरोध गरेकी थिइन्। अहिले मेयर शाही अजरबैजान भ्रमणमा रहेकै समयमा प्रदेश सरकारले उद्घाटन प्रक्रिया अघि बढाएको छ।

मुख्यमन्त्री शाहले आज बिहान ८ बजे अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय गरेको जनाइएको छ। तर उद्घाटनअघि नै अस्पताल परिसर वरपरको अवस्था तनावपूर्ण बनेको छ। बुधबार राति करिब ११ बजेदेखि अस्पतालको मूल गेटमा जेसीबी, डोजर, एम्बुलेन्स तथा ट्याक्टर जस्ता सवारी साधन राखेर अवरोध सिर्जना गरिएको बताइएको छ। कार्यक्रम प्रभावित पार्ने उद्देश्यसहित यस्तो तयारी गरिएको स्थानीय स्रोतहरूको दाबी छ।
मेयर निकट व्यक्तिहरूले उद्घाटन कार्यक्रम रोक्न रणनीतिक तयारी गरिरहेको सूचना पाएपछि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। सम्भावित झडप वा अप्रिय घटना हुनसक्ने अनुमान गर्दै जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा प्रहरी परिचालन गरेको जनाएको छ। नेपाल प्रहरीलाई सहयोग गर्न सशस्त्र प्रहरी बलले समेत अतिरिक्त सुरक्षा टोली परिचालन गरेको छ।
विवादको केन्द्रमा अस्पतालको स्वामित्व, सञ्चालन अधिकार र प्रशासनिक समन्वयको विषय रहेको देखिन्छ। मेयर शाहीले प्रदेश सरकारले स्थानीय सरकारसँग पर्याप्त सहमति र औपचारिक सम्झौता नगरी अस्पताल सञ्चालन गर्न खोजेको आरोप लगाउँदै आएकी छन्। उनले प्रदेश सरकारको कदमलाई “जबर्जस्ती हस्तक्षेप” को संज्ञा दिँदै विरोध जनाउँदै आएकी हुन्।
यद्यपि, विगतमा भने मेयर शाहीले नै लम्कीचुहाको १५ शैयाको नगर अस्पताललाई स्तरोन्नति गरेर ५० शैयाको प्रादेशिक अस्पताल बनाउने प्रस्तावमा सहमति जनाएको तथ्य सार्वजनिक भएको छ। सोही सहमतिका आधारमा संघीय सरकारले लम्कीचुहालाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने निर्णय गरेको थियो।
तर पछिल्लो चरणमा स्थानीय तह र प्रदेश सरकारबीच अधिकार, सञ्चालन संरचना तथा सम्झौताको विषयमा मतभेद देखिएको छ। मेयर शाहीले प्रदेश सरकारसँग स्पष्ट समझदारी तथा कानुनी प्रक्रिया पूरा नभएको भन्दै आपत्ति जनाउँदै आएकी छन्।
यसैबीच, अस्पताल सञ्चालन रोक्न कानुनी बाटो अपनाउँदै मेयर शाही सर्वोच्च अदालत पुगेकी थिइन्। उनले प्रदेश सरकारको निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश माग गरेकी थिइन्। तर सर्वोच्च अदालतले स्वास्थ्य सेवा प्रदेश सरकारको एकल अधिकार क्षेत्रअन्तर्गत पर्ने प्रारम्भिक आधार देखिएको भन्दै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको थियो।
सर्वोच्चको उक्त निर्णयपछि प्रदेश सरकारले अस्पताल सञ्चालन तथा उद्घाटन प्रक्रिया तीव्र बनाएको हो। अहिले प्रदेश सरकार अस्पताललाई स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने महत्वपूर्ण परियोजनाका रूपमा अघि बढाउन चाहिरहेको छ भने स्थानीय नेतृत्वले प्रक्रिया र अधिकारसम्बन्धी विषयमा असन्तुष्टि व्यक्त गर्दै आएको छ।
उद्घाटनको मिति नजिकिँदै जाँदा लम्कीचुहा क्षेत्रमा राजनीतिक गतिविधि, सुरक्षा निगरानी र स्थानीय चासो उल्लेखनीय रूपमा बढेको छ। बिहीबारको कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ कि थप विवाद सिर्जना हुन्छ भन्ने विषय अहिले सबैको चासोको केन्द्र बनेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
