स्वास्थ्य

निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः सरकारले निजी अस्पतालमा प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गरेको छ।

स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले आकस्मिक सेवाबाहेकका सबै बीमा सेवा निजी अस्पतालमा स्थगित गर्ने निर्णय गरेको हो।

बिज्ञापन

बोर्डले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थामार्फत दिइँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुनेछन्। यो निर्णय जेठ ११ गते बसेको बोर्ड बैठकले गरेको हो।

यस निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सयौँ निजी अस्पताल र मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने भएका छन्। यद्यपि आकस्मिक सेवा भने यथावत् रूपमा सञ्चालन हुने बोर्डले स्पष्ट पारेको छ।

सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यसहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक अव्यवस्था, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण संकटग्रस्त अवस्थामा पुगेको भन्दै आलोचना बढ्दै गएको छ। वर्षौंदेखि निजी अस्पताललाई दिनुपर्ने अर्बौँ रुपैयाँ भुक्तानी रोकिँदा अन्ततः सेवा कटौती गर्न बोर्ड बाध्य भएको स्रोतहरूको भनाइ छ।

बीमा बोर्डका अनुसार हालसम्म सेवाप्रदायक संस्थालाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। स्वास्थ्य क्षेत्रका जानकारहरू सरकारको अपर्याप्त वित्तीय व्यवस्थापन, सेवा गुणस्तर र दिगोपनप्रति गम्भीर ध्यान नपुग्दा स्वास्थ्य बीमा कार्यक्रमको अस्तित्व नै जोखिममा परेको बताउँछन्।

निजी अस्पतालहरूले लामो समयदेखि बीमावापतको भुक्तानी नपाएको, दाबी रकम अड्किएको र प्रक्रियागत झन्झट बढेको गुनासो गर्दै आएका थिए। कतिपय अस्पतालले यसअघि नै बीमाका बिरामी नलिने चेतावनी दिइसकेका थिए। अब बोर्ड स्वयंले सेवा स्थगनको निर्णय गरेसँगै स्वास्थ्य बीमा कार्यक्रम व्यवहारतः संकुचनको चरणमा पुगेको देखिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।